सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा रोकी राखेको बा.४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका–१४ मुरलीवगैंचा घर भई काठमाडौं काँडाघारी हात्तिडाँडा बस्ने ४५ वर्षीय संजय सिंहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी रसुवा, गोसाईकुण्ड गाउँपालिका–५ हाकुबेशीस्थित सडकमा हाकुबेशी ड्यामसाईडबाट हाकुबेशीतर्फ आउँदै गरेको बा.प्र.०२–०११ प ४६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक आमाछोदिङ्मो गाउँपालिका(१ हाकुबेशी घर भएका २० वर्षीय राम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

चितवन, राप्ती नगरपालिका–५ खहरे पुलस्थित सडकमा काँकडभित्ताबाट चितवनतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ४१३८ नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्ती नगरपालिका(६ बस्ने ६२ वर्षीय मनुराम महतोको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, लम्कीचुहा नगरपालिका–१ स्थित सडकमा सु.प.प्र.०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक जानकी गाउँपालिका–१ बस्ने ३५ वर्षीय बिमल डंगौरा थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।