थाइल्याण्डबाट फर्किए अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवम्‌ अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट स्वदेश फर्किएका छन्‌ ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल शुक्रबार स्वदेश फर्किएका हुन्‌ ।

सम्मेलनमा दिगो विकासका लक्ष्यहरू, स्रोत व्यवस्थापन, पूँजी परिचालन, सार्वजनिक ऋण, जलवायु वित्तका लागि स्थापित कोष र वित्तीय अन्तर लगायतका विषयमा छलफल भएको थियो ।

एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गरेको परामर्श बैठकको अध्यक्षता नेपालले गरेको थियो ।

परामर्श बैठकबाट आएका सुझावहरुलाई समेत समावेश गरी सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्तावेज तयार पारिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।