क्रियाशील पत्रकार (डब्लुडब्लुजे) बाँकेको अध्यक्षमा गिरी चयन

क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे बाँकेको १२ औं साधारणसभा र छैठौं अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्षमा पत्रकार साबित्री गिरी चयन भएकी छिन् ।

क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा उक्त १२ औं साधारणसभा र छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा गिरीलाई चयन गरेको हो ।

उक्त अधिवेशनले यसैगरी उपाध्यक्षमा बिमला चौधरी, सचिवमा अमृता जैशी (निशु), सहसचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित चयन भएका हुन् ।

यसैगरी सदस्यहरुमा सजल गैरे, सुनिता बर्मा, मन्जु रिजाल, साहिदा बानो शाह, सरला बराल र सविता चन्द ठकुरीलगायत ११ सदस्यीय कार्यसमित चयन भएको हो ।

डब्लुडब्लुजे बाँकेको अधिवेशनमा निःवर्तमान कोषाध्यक्ष निशु जोशीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथि लिला शाहले पत्रकार महिलाको क्षमता विकासका साथै पत्रकार महिलाहरुको संख्या बढाउनको लागि पहल गरिन् । उनले आफूले जिवनको लामो समय पत्रकारिता क्षेत्रमा विताएको बताउँदै अब आउने दिनमा नयाँ पुस्ताका पत्रकारहरुसँग हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरिन् । शाहले पत्रकार महिलाकालागि पत्रकार पेशा चूनौति भएपनि विगत भन्दा आजको दिनसम्म आईपुग्दा सहज र आर्थिक पक्षमा पनि सुधार आएको बताईन् । पत्रकार महिलाहरुले आफ्नो अधिकारकोलागि निरन्तर रुपमा आफ्नो क्षमता र दक्षता बढाउदै अघि बढ्नु पर्ने धारणा राखिन् ।

कार्यक्रममा क्रियाशील पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रदेश सचिव सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, उपाध्यक्ष करुणा शाह, सञ्चारिका समुह, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी र लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराजलगायतले क्रियाशील पत्रकार महिलाहरुलाई अगामी दिनहरुमा अझ उन्नती र प्रगति गर्नकोलागि शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा क्रियाशील पत्रकार महिलालाई आर्थिक रुपमा सहयोग गर्ने संस्था तथा व्यक्तिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित संघ, प्रदेश र जिल्लाका पत्रकार महिला र केही पदाधिकारीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीले पत्रकार महिलाका मुद्दामा निरन्तर पहल गर्ने प्रतिवद्धता जनाएका थिए । क्रियाशील पत्रकार महिलाले आगामी दिनमा पत्रकार तथा श्रमजीवि महिलाका सवालमा निरन्तर सन्डे क्लब गर्ने, फेलोसिप कार्यक्रम तथा तालिम सञ्चार गर्ने र पत्रकार महिलाको हक हितका लागि विभिन्न कार्यक्रम गर्ने योजना अधिवेशनमा प्रस्तुत गरिएको थियो। यी योजनालाई अझ बृहत बनाएर कार्यान्वयन गर्ने नवनिर्वाचित अध्यक्ष सावित्री गिरीले बताईन ।