माओवादी नेत्री ओनसरी घर्तीले पार्टीमा विचारको नयाँ बहस चलाउन विशेष महाधिवेशनको आवश्यकता रहेको बताउनु भएको छ ।
पूर्वसभामुख माओवादी नेत्री ओनसरी घर्तीले विशेष महाधिवेशनको माग गर्नु भएके हो । काठमाडौंको धुम्बाराहीस्थित स्मार्टदरबार बैंक्वेटमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेत्री घर्तीले विशेष महाधिवेशनबाट नयाँ विचारसहित पार्टी अघि बढ्नुपर्ने बताउनु भयो ।
पार्टीभित्र विचारको बहसको मोर्चा खोल्नुपर्ने बताएकी उनले पार्टीको भावी नेतृत्वको सवालमा पनि त्यही बहस र छलफलले अल गर्ने धारणा राख्नु भयो ।
‘अब घिसेपिटे कार्यशैलीबाट परिवर्तन सम्भव छैन । त्यसैले पार्टीभित्र महान् बहसको मोर्चा खोल्नैपर्दछ,’ उहाँको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘त्यसका लागि विशेष महाधिवेशनमा जाऔँ र महान् बहसमा जुटौँ ।’
विशेष महाधिवेशनको माग गरेकी घर्तीले वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्न पनि माग गर्नु भयो । पार्टीको जिम्मेवारीमा रहेका अधिकांशमा बिचलन र स्खलन आएको भन्दै उहाँले त्यो कसैमा बढी र कसैमा कम देखा परेको जिकिर गर्नु भयो।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनले हलचल ल्याउने बताउँदै उहाँले उत्पीडित वर्गको दृष्टिकोणबाट प्रतिवेदन सही भएको धारणा व्यक्त गरेको ती केन्द्रीय सदस्यले जानकारी दिनु भयो ।



















