महाराष्ट्र: जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

जलगाउ रेल दुर्घटनामा परी मृत्यु हुने यात्रुको सङ्ख्या १३ पुगेको जलगाउँ जिल्ला प्रशासक आयुष प्रसादले बिहीबार जानकारी गराएको छ । उनले भने, “बुधबार साँझ भएको रेल दुर्घटनामा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।”

बुधबार साँझ नजिकैको ट्र्याकबाट कर्नाटक एक्सप्रेस रेल अघि बढिरेका समय पुष्पक एक्सप्रेसको डिब्बामा आगलागी भएपछि यात्रुहरू रेलबाट झर्ने क्रममा गुडिरहेको रेलले धेरै मानिसहरूलाई ठक्कर दिएको थियो।

घाइतेहरूलाई सिभिल अस्पताल जलगाउँमा भर्ना गरिएको छ र उनीहरूको उपचार भइरहेको छ। रेल मन्त्रालयले जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ दिने घोषणा गरेको छ ।

रेलमन्त्री अश्विनी वैष्णवको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रूपैयाँ र सामान्य घाइते भएकालाई पाँच हजार रूपैयाँ दिने घोषणा गरिएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनामा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ । उनले सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भन्नुभएको छ, “महाराष्ट्रको जलगाउँमा रेलको लिकमा भएको दु:खद दुर्घटनाबाट मर्माहत छु।

शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेसबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।” महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्णवीसले पनि जलगाउँ रेल दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ । घाइतेको सम्पूर्ण उपचार खर्च पनि प्रदेश सरकारले व्यहोर्ने उनले बताए ।