यति बेला समाजिक सञ्जालमा गायिका एलिना चौहानको सम्बन्ध विच्छेदको कुरालाई लिएर लगातार चौतर्फि चर्चा बटुली रहेको छ । उनको वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले अहिले सामाजिक सञ्जाल तातेको देखिन्छ । वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । उनले सम्बन्ध विच्छेद गर्न काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन्।
चौहानका अनुसार, पतिले बारम्बार चरित्रमाथि शंका गर्ने, कलाकारितामा संलग्न भएकाले राति अबेरसम्म कार्यक्रममा बसेको नपचाउने, मानसिक तनाव दिने र विश्वास नगर्ने प्रवृत्तिका कारण सम्बन्ध असहज बनेको हो । यसै कारण उनले अंश नलिने सर्तसहित सम्बन्ध विच्छेदको निवेदन दिएकी छिन् ।
केही वर्षयता सम्बन्ध विच्छेद भयावह बन्दै गएको छ । वर्षेनी सम्बन्ध विच्छेद गराउनेको संख्या डरलाग्दो रूपले वृद्धि हुँदै गएको हो । अदालतमा आउने मुद्दामध्ये सबैभन्दा बढी पारपाचुके अर्थात् सम्बन्ध विच्छेदका छन् । बिवाह कागजमा मात्र सीमित हुन्छ तब यसले सम्बन्ध बिच्छेदको रुप लिन्छ ।
सम्बन्ध विच्छेद हुनुमा धेरै कारणहरु हुन सक्छ ति मध्ये मुख्यकारण महिलाहरूमा आएको चेतना, वैदेशिक रोजगार अपरिपक्क उमेर, पारिवारिक असन्तुलन, श्रीमान–श्रीमतीबीच असझमदारी, घरेलु हिंसा, यौन असन्तुष्टि, महिला सशक्तिकरणलगायतका कारण भएको अध्ययनहरुले देखाएका छन् । साथै, सूचना प्रविधिको बढि प्रयोग, समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध, छोराछोरीको चाहना विपरित घर परिवारले विवाह गरिदिनु, आफूले चाहेको र आफूले माया गरेको मानिससँग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु, घरपरिवार र श्रीमानले श्रीमती तथा बुहारीको ख्याल नगर्नु जस्ता कारणले पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको देखिन्छ ।
यतिमात्रै नभएर सम्बन्ध विच्छेद हुनुमा मनोवैज्ञानिक कारणहरु पनि छन् जसमा भावना आदान–प्रदानमा समस्या, आपसी मनमुटाब, विश्वासघात, असहजता, आत्मीयताको अभाव, जीवनशैलीमा परिवर्तन, जसले गर्दा बारबार श्रीमान र श्रीमतीको बीचमा झगडा उत्पन्न भई सम्बन्ध विच्छेदसम्म पुगेको देखिन्छ ।
पहिला पहिला समाज घरपरिवारको डरले पनि सम्बन्ध विच्छेद गर्न पछि हट्थे भने समय अनुसार महिलाहरूमा आएको परिवर्तन, सोच विचार, सक्षमता, अन्याय अत्याचारसँग जुध्न थालेपछि सम्बन्ध विच्छेद बढेको देखिन्छ । विगतमा सम्बन्धमा खटपट भएपछि पुरुषहरू मात्रै सम्बन्ध विच्छेद गर्न अग्रसर हुने गरेको देखिन्थ्यो भने पछिल्लो समयमा धमाधम महिलाहरुले पनि उजुरी दिन थालेका छन् ।
कतिपय महिलाहरु आफ्नो वैवाहिक सम्बन्धमा खुशी नहुँदा नहुँदै पनि समाज आमाबुवाको डरले पनि आफ्नो पिडा बाहिर खुलेर भन्न र देखाउन नसक्ने पनि छन् । हिन्दु धर्म अनुसार एक पटक विवाह गरे पछि सात जुनीसम्म जस्तो सुकै बाधा आएपनि निभाउनु पर्छ भन्ने मान्यता रहेको छ । “मारे पाप, पाले पुण्य” भनेर छोरीको विदाई गर्ने चलन छ । छोरीलाई कन्यादान गरिरहँदा हरेक बुवाआमाले ज्वाईलाई विवाहको दिन ज्वाईसाब–अबदेखि हाम्री छोरी हजुरलाई । मारे पाप, पाले पुण्य भन्दै विदा गर्दछन् ।
अर्को तर्फ कानुनले भने सम्बन्ध विच्छेदका आफै सर्तहरु तोकेको छ । नेपालको मुलुकी देवानी संहिता २०७४ को धारा ९३ अनुसार पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन् । दुवैको सहमति नभएमा धारा ९४ अनुसार पतिले सम्बन्ध विच्छेद गर्न सक्ने निम्नानुसारको प्रावधान रहेको छ ।
(क) कानुन बमोजिम अंश लिई वा मानो छुटिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, (ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, (ग) पत्नीले पतिलाई ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल प्रपञ्च गरेमा, (घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा।
कानुनी व्यवस्था हुँदा हुँदै पनि समाज परिवारको डर धम्कीले गर्दा अझै पनि कतिपय महिलाहरु पिडालाई सहेरै बसेका छन् । सम्बन्ध विच्छेद गर्ने भन्दा पनि आफ्नो परिवार र समाजको डरले अकालमै ज्यान फाल्ने महिलाहरुको संख्या धेरै छन् । चौहान आफै समाजमा परिचित व्यक्ति भएको कारण अंश नलिने सर्तसहित सम्बन्ध विच्छेदको निवेदन दिने आट गरीन जुन एक जना सामान्य महिलाले सक्दिनन् राज्य र समाजको ध्यान त्यस्ता महिलाको सहयोग तर्फ जानु पर्ने देखिन्छ ।


















