तुलसीपुर टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने गर्छु–सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाँणले दाङमा स्थानीय कार्यकर्तासङ्ग भेटघाट गरेका छन् ।

नेपाली काँग्रेस दाङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेताद्वय देउवा र खाण पुगेका हुन् ।

भेटघाट कार्यक्रम लगत्तै देउवाले दाङ चखौरा स्थित थारु समुदायको सांस्कृतिक संग्रहालयको अवलोकन गरेका थिए । उनले थारु समुदायको सांस्कृतिक संग्रहालयको अवलोकन गर्दै थारु ‘कुम्भ’मा थारुको विकास नै लुम्बिनी प्रदेशको विकास हुने बताए ।

सभापति देउवाले दाङको विकासका लागि तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने बताए ।

उक्त भेटघाट कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले काँग्रेस एकताबद्ध भएर अगाडि बढेमा कसैले हराउन नसक्ने बताए । उनले भने–‘काँग्रेसलाई कसैले हराउँछ भने त्यो काँग्रेसले नै हराउँछ त्यसैले सबै काङ्ग्रेस मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी, केन्द्रीय सदस्य पूर्व राज्यमंन्त्री देवेन्द्रराज कँडेल केन्द्रीय सदस्यहरु योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीलाई संस्थागत बनाई सञ्चालनमा ल्याउने, एकतावद्ध र मजबुत कांग्रेस भएको सन्देश जनतामाँझ पुराउन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीले स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले गरेका हुन् ।