नम्बर प्लेटको बिक्रीमा एमाजनले लगायो प्रतिबन्ध

अमेरिकी अनलाइन रिटेलर एमाजनले आफ्नो साइटमा नम्बर प्लेटको बिक्रीमा रोक लगाएको छ । नम्बर प्लेटहरू गैर कानुनी रूपमा आपूर्ति भइरहेको बीबीसी लन्डनको अनुसन्धानले देखाएपछि कम्पनीले यो कदम चालेको हो ।

एमाजनको साइटमा भएका सात कम्पनीहरूले उपभोक्ताका कागजपत्रको चेक जाँच नगरी नम्बर प्लेट बेचिरहेको बीबीसीले फेला पारेको थियो । चालक अनुमति पत्र लगायतका कागजपत्र चेकजाँच नगरी, प्रत्यक्ष रूपमा यस्ता कागजपत्र नहेरी बेलायतमा नम्बर प्लेट बेच्नु गैर कानुनी हो ।

बीबीसीको अनुसन्धानले देखाएका सात ओटै कम्पनीलाई एमाजनको साइटबाट हटाइएको र नयाँ बाहेक सबै नम्बर प्लेटको विक्री रोक्का गरिने कम्पनीले बताएको छ ।