सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको आतंकवादी आक्रमण घटनाको एक अभियुक्तलाई सुपुर्दुगी गर्न अमेरिका तयार भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार ह्वाइट हाउसमा स्वागत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले २६÷११ मुम्बई आक्रमणका एक अभियुक्तलाई भारत सुपुर्दुगी गर्न अमेरिका तयार रहेको बताएका हुन्।
मुम्बईमा भएको आतंकवादी हमलाको एक अभियुक्त तहववुर राना लस एन्जलसको जेलमा छन्। पाकिस्तानी मूलका क्यानाडेली नागरिक हुन्। उनी पाकिस्तानी मूलका अमेरिकन ’आतंककारी’ डेभिड कोलम्यान हेडलीका निकट पात्र रहेको द हिन्दुस्तान टाइम्सले जनाएको छ।
कोलम्यान मुम्बईमा भएको आतंकवादी आक्रमणको मुख्य योजनाकारमध्येका एक रहेको भनिएको छ।
’अमेरिका एक हिंस्रक व्यक्तिलाई भारत फिर्ता पठाउँदैछ,’ ट्रम्पले ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने।
मोदीले आफ्नो देशमा भएको आतंकवादी हमलामा संलग्नलाई सुपुर्दुगी गर्ने निर्णयप्रति ट्रम्पलाई धन्यवाद दिए।
’हामी भारतको मस्ट वान्टेड अपराधी उसैलाई दिँदैछौं। र अपराधविरूद्ध दुई देश मिलेर काम गर्नेछौं,’ ट्रम्पले भने।



















