त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोटरसाइकललाई प्रवेश गर्न रोक

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुको प्रदर्शनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय प्रवेशमा कडाइ गरिएको छ । चक्रपथसँगै जोडिएको विमानस्थलको मुख्य गेट (गोल्डेन गेट)मा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । उनीहरुले सोधपुछ र चेकजाँचपछि मात्रै उनीहरुलाई भित्र प्रवेश गर्न दिएका छन् ।

केही मोटरसाइकलमा सवार व्यक्तिलाई त प्रवेश गर्न नदिई सुरक्षाकर्मीहरुले फर्काइदिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक हप्ता बसाइँपछि आज हवाईमार्ग हुँदै काठमाडौं आउँदैछन् । उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र राजावादी विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् ।

राजावादीहरु सडकमा उत्रिएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ ।