काठमाडौँ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुरमा म्याद थप हुने भएको छ ।
सबैलाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो । अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये कसलाई कुन मुद्दा लगाउने भन्ने टुंगो लागिसकेको छैन ।
१५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।
शुक्रबारको घटनामा प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अन्यको हकमा आवश्यक स्क्रिनिङपछि आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनीलगायतका मुद्दा चलाउने प्रहरीको भनाइ छ ।
उक्त घटनालाई कमाण्डरको भूमिका खेलेका दुर्गा प्रसाईँ हालसम्म फरार छन् ।


















