दुर्गा उपासना र अष्टमी

आज चैते दसैँ, देवीको उपासना गर्ने विशेष दिन । त्यसो त वर्षभरिमा ४ नवरात्रिहरु छन् । चैत्र शुक्ल, असार शुक्ल, असौज शुक्ल र माघ शुक्ल । यी मध्ये असौज र चैत्र शुक्लको नवरात्रि विशेष महत्वपूर्ण छ, जसको भालिपल्ट भगवान मर्यादा पुरुषोत्तम श्रीरामको जन्म दिन हो । वैदिकसाहित्यमा भवानीलाई भवरोगनाशिनीदेवी भनिएको छ । भय दूर गर्ने भवानीको उदय अष्टमीकै दिन भएको हो ।

चैत्रशुक्ल अष्टमीमा उत्पत्ति भएकी भवानी आश्विनशुक्ल अष्टमीमा भगवतीको रुपमा उदय भएकी हुन्् । सम्पूर्ण संसारको कार्यकारी शक्तिलाई हातमा लिएकी भगवती सामु कालखण्डका सम्पूर्ण देवता, सुर, असुर, जीव र जगत् एउटा खेलौना समान भनी देवीभागवतको प्रारम्भिक वन्दनामै व्याख्या गरिएको छ । सप्तशतीचण्डीमा देवीका ब्राह्मी, वैष्णवी, कौमारी, बाराही, महेश्वरी रुपको चर्चा छ । संसारको उत्पत्ति, स्थिति र प्रलय उनैबाट हुने गर्छ । प्रकृति र पुरुषरुपी यो संसारको संहार पनि उनैबाट हुन्छ । देवताहरु सामु प्रर्थनाबाट खुसी भएकी देवीले आपूm ब्रह्मस्वरुपिणी भएकीले सर्वत्र एकछत्र शक्तिका रुपमा उनलाई हेर्न भनेकी छिन् । उनका २ प्रमुख स्वरुपमा सवै जीवमा चित्स्वरुप परासत्ता र सवै पदार्थमा जड्स्वरुप अपरासत्ता स्वीकार्न भनेकी छिन् । दानवहरुमाथि विजय प्राप्त गेरकी देवी देवताहरुलाई ब्रह्म सत्ताको बोध गराउँछिन् । सम्पूर्णमा तेज, ओज र वैभव दिने देवी दुष्टहरुका लागि दुवुद्र्धिका रुपमा र सज्जनहरुका लागि सुकीर्तिमा स्थापित हुन्छिन् ।

शास्त्रहरु प्रतिकात्मक हुन्छन् । सप्तशतीमा वर्णित रक्तवीज मानवमा भएको रक्तदोष हो । रक्तचाप, अनेकौँ विकार, कुण्ठा र वैमनस्याताहरु एकपछि अर्को वढ्दै जान्छन् । शुम्भ र निशुम्भ मान्छेको शंका र उपशंका हो । महिषासुर शरीरको बडप्पन, मान, पद, प्रतिष्ठाको बडप्पन हो, चण्ड र मुण्ड मानिसका आवेग, तनावहरु हुन् । धुम्रलोचन आँखाको दृष्टिभ्रम हो, अज्ञानताको पर्दामा ढाकिदा ज्ञानरुपीे दिपज्योति प्रकाशित हुन सत्तैmन । ज्ञान, विवेक, संयम र तनावरहित जीवनबाट आवेग, क्रोध, इष्र्या, वैमनस्यताहरु हटेर जान्छन् । आसुरी प्रवृत्तिहरु हट्छन् । यी सवैको वलिदान साँचो वलिदान हो । वलिदान भन्नाले त्याग हो, आत्मसमर्पण हो । क्रोध, आवेग, तनाव, चिन्तारुपी बोको बुद्धिको वलिदान हो । दुर्वुद्धिको वलिदान हो । रगतका थोपाथोपा शुद्धीकरण गर्दै समाजप्रति समर्पण हुनु भनिएको हो । मानवमा भएका ती दुर्वलताहरुलाई वलिदान गरी प्रेम, सदाचार, भाइचारा स्थापित गर्नु हो । देवी संसारकै आमा भएकीले कुनै जीवहरु काखमा राखेर हत्या गर्न कुनै आमाले पनि स्वीकार गर्ने कुरै आउँदैन । घरघरमा वा शक्तिपीठहरुमा वलिदान गर्नुपर्ने हिंँसा र क्रोध नै हो । अष्टमी, नवमीको संकेतले जीवनको असी, नव्वे वर्षको संकेत गर्छ । यतिवेला जीवनमा वाँकी रहेका सवै आसुरी भावको वलिदान गरी मोक्ष प्राप्तिको प्रयासका लागि देवीको उपासना भनिएको हो ।

हाम्रो देशमा धेरै शक्ति पीठहरु छन्, त्यसमा गोर्खाकी गोरखकाली, मनकामनादेवी, पोखराकी विन्ध्यवासिनी, ताल वाराही, बाग्लुँगकी बाग्लुँग कालिका, दोलखाकी कालिन्चोक देवी, सप्तरीकी छिन्नमस्ता, धरानकी दन्तकाली, ताप्लेजुँगकी पाथिभरा, बाजुराकी बढीमालिका, नवलपरासीकी मौलाकालिका, तनहुँकी छाब्दी बाराही, काठमाडौँकी गुह्येश्वरी, चामुण्डा, बज्रबाराही, म्हैपी, संकटा, मैतिदेवी, नरदेवी, दक्षिणकाली, बज्रयोगिनी, नरदेवी, भद्रकाली, नक्साल भगवती, जय वागेश्वरी, वनकाली धेरै शक्ति पीठहरु छन् जहाँ देवीको उपासना भइरहन्छ ।

सृष्टिको उषाकालदेखि ब्रह्मा, विष्णु, महेशको स्तुति वन्दना गरिएकी देवी सर्वकल्याणमयीका रुपमा चिनिन्छिन् र उनलाई भूवनेश्वरी भनिन्छ । मणिद्विप निवासिनी देवीको चर्चा नवरात्रिमा विशेष पारायण गरिने देवीभागवत, कालिकापुराण, दुर्गासप्तशती आदिमा गरिएको छ । चैत्रशुक्ल प्रतिपदादेखि आरम्भ गरी घटस्थापना गरेर पहेंला जमरा ग्रहण गरी शुभ आशीर्वाद लिई मर्यादा पुरुषोत्तम श्रीरामले रावणमाथि विजय प्राप्त गर्न सकेको स्मरणस्वरुप मनाउँदै आएको शुभविजया उत्सव सबैका लागि सजिलो होस् भनी शारदीय नवरात्रिका रुपमा मान्दै आइएको हो । अघि नारदकै श्रापका कारण श्रीविष्णुले मनुष्यअवतार लिनु परेको र नारदगुरुकै उपदेशअनुसार लङ्काका रावणबाट अपहरित सीतालाई सकुशल फिर्ता ल्याउन र रावणमाथि विजय प्राप्त गर्न घटस्थापनाको विधि बताइएको हो । घटस्थापनामा प्रयोग हुने जौ अन्नको सर्वाधिक शक्तिशाली नै हो । जौमा अत्यन्त पोषणतत्व रहेको र जुनसुकै बिरामीलाई पनि सेवनयोग्य भएको कुरा वैज्ञानिक पुष्टि भएको छ । गाईको गोबर अत्यन्त पवित्र मानिन्छ । यसमा रोगका किटाणुहरु बस्न नसक्ने हुन्छ । माटाको घडामा गोबर टाँसी जौ रोप्ने र त्यसरी उमारिएको जौको जमरा शिरमा ग्रहण गर्नाले मन मस्तिष्क स्वच्छ, पवित्र भई आशीर्वाद योग्य हुन्छ । जौको जमरा, मालाबाट देवी प्रशन्न हुने र इच्छासिद्धिको वरदान दिन सकिन्छ् । अहिले पनि चैतको नवरात्रिमा जमराको प्रचलन देखिन्छ ।

देवीको उपासनाले जीवनमा थप ऊर्जा प्राप्ति हुन्छ, शक्ति प्राप्ति हुन्छ । चण्डीमा ७ सय श्लोक छन् यसबाट शक्ति सन्चय हुन्छ । श्रीमद्भागवत जसमा ३३५ अध्याय र १८ हजार श्लोकहरु छन्, यसबाट जीवनमा भक्ति प्राप्त हुन्छ र श्रीमद्भगवत् गीता जसमा ७ सय श्लोकहरु छन्, यसबाट मुक्ति प्राप्त हुन्छ । मानवको लक्ष्य भनेको शक्ति, भक्ति र मुक्ति नै हो । सौन्दर्य र सुख चाहनेले, धन पुत्रादि वैभव चाहनेले सप्तशति चण्डीको उपासना गर्ने गर्छन् भने जीवन सरस भक्ति चाहेर भगवनान चाहनेले भागवत रसामृत पान गर्ने गर्छन् र भवाटवीबाट छुट्टी चाहनेले गीताको स्वाध्याग गर्नु पर्ने हुन्छ । यी दैवी वाणाीहरुबाट जीवनलाई सिन्चित गर्न जान्ने र सक्नेले आपद् र विपद् सहनु पर्दैन, अस्तू ।