परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई संविधानले दिएका अधिकार कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएकी छन् ।नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
कांग्रेस नेत्रीसमेत रहेकी राणाले अहिले बलियो सरकार रहेकाले पनि संविधानले दिएका अधिकार कार्यान्वयन गराउन सहज अवस्था रहेको बताइन् ‘एनआरएन कार्ड वितरणमा धेरै ढिलो भएको हो । तर, अहिले स्थायी सरकार आएको छ । तपाईंहरूले धेरै नै धैर्यता देखाउनुभयो र साथ दिनुभयो । अब यसलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ,’ उनले भनिन् ।
विदेश गएका नेपालीहरू नेपाली नभई देश छाडेर गएका गद्दार हुन् भन्ने धारणा राख्ने कतिपय दलका कारण विगतमा संविधान लेख्ने क्रममा धेरै जुध्नु परेको उनले चर्चा गरिन् । ‘संविधान लेख्दा गैरआवासीय नेपालीहरूलाई अधिकार दिनै हुँदैन भन्नेहरू पनि थिए । विदेश गएकाहरू गद्धार हुन् भन्ने पनि कतिपय पार्टी थिए । संविधान बनाउने क्रममा धेरै छलफल भएपछि मात्र संविधानमा यो व्यवस्था राखिएको हो,’ उनले भनिन् ।
विदेशमा रहेका सबै नेपाली नेपाली नै हुन् भन्नेमा सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस स्पष्ट रहेको उनले बताइन् ।
उनले नेपाली कांग्रेसले बहुमत ल्याउन नसकेकाले विभिन्न दलसँग मिलेर सरकार बनाउनु परेको पनि बताइन् । कार्यक्रमका सहभागीले पटकपटक गठबन्धन दलहरू फेरबदल गर्दा जनतामा राम्रो सन्देश नगएको टिप्पणी गरेपछि उनको यस्तो जवाफ आएको थियो ।
‘सरकारका नगएसम्म पार्टीका नीति कार्यक्रम लागू गराउन सकिँदैन । तर, हाम्रो पार्टीले एक्लै बहुमत ल्याउन सकेन । आफैंले बहुमत ल्याएको भए कुनै पनि दलसँग मिलेर सरकारमा जानु पर्ने थिएन । बहुमत नआएकाले विभिन्न पार्टीसँग मिलेर सरकारमा जानु परेको हो,’ उनको जवाफ थियो ।



















