नेपालको इतिहासमा राणाकाल : वस्तुनिष्ठ मूल्याङ्कनको खाँचो

नेपालको इतिहासमा १०४ वर्षको जाहनिया राणा शासनको अवधि विविध दृष्टिले महत्त्वपूर्ण छ । त्यस समयको इतिहासका समग्र पक्षको वस्तुनिष्ठ अध्ययन अनुसन्धानको अभाव खड्किएको महसुस गरी यस विषयमा बहस चलोस् भन्ने मनसायले यो आलेख तयार पारिएको पाठक वर्गमा निवेदन गर्दछु ।

लिच्छविकालसम्बन्धी जानकारीको महत्त्वपूर्ण स्रोत अभिलेख नै हो र यसै स्रोतबाट प्रवाहित सूचनाको आधारमा उक्त समयका राम्रा पक्ष उजागर गर्ने प्रशस्त कार्य भए । शासकलाई देवत्वकरण गर्ने प्रयास पनि प्रशस्तै भए । लिच्छविकाललाई स्वर्णयुग भन्ने जमात पनि देखियो तर जनताको समग्र पक्षको इतिहासको सर्वथा अभाव छँदै छ । तत्कालीन अभिलेख राजा, राजपरिवार, सामन्त एवं ठूलाठालुले मात्र राखेका हुँदा ती सबै गुणानुवर्णनतर्फ अग्रसर थिए । हो, यी अभिलेखबाट महत्वपूर्ण सूचना प्राप्त नभएका चाहिँ होइनन् । सतीप्रथा, दासप्रथा महिलाको स्थिति, करको बोझ, झाराप्रथा आदि पक्ष हेर्दा लिच्छविकाललाई स्तुत्य शासनकाल कदापि मान्न सकिँदैन । यसैगरी मध्यकाल खस साम्राज्य, नेपाल मण्डल र डोयराज्यको इतिहास लेखनमा सबल र निर्बल दुवै पक्ष विवेचना भएको पाइन्छ । पृथ्वीनारायण शाहले नव नेपाल निर्माण गरेपछि विगतमा राजतन्त्र हुँदासम्म शाह राजाको महिमा गाउने र उनीहरूका प्रत्येक कार्यको सराहना गर्ने जस्ता कार्य प्रशस्तै भए ।

शासकहरूको स्तुतिगानबाट थोकमै प्रत्यक्ष र परोक्ष फाइदा लिने भाट प्रवृत्तिका लेखकहरू पनि धेरै देखिए । नेपालबाट राजतन्त्र गएपछि भने शाह राजाहरूको विरोधमा लेख्ने र बोल्ने एक किसिमको लहर नै चल्न थाल्यो । राणाशासन कालमा उनीहरूको प्रशंसा गर्नेहरू कति भए कति, ती सबैले राणाशासनको निर्बल पक्षमा चुक्क बोलेनन् । हुन त बोल्न सक्ने स्थिति पनि थिएन । इतिहास लेखनमा तत्कालीन राजनीतिको प्रभाव पर्छ नै । यसैकारण निष्पक्ष इतिहास आउन केही समय लाग्छ पनि । अब भने सत्य कुरा तथ्यमा रहेर विश्लेषण गर्ने समय आएको छ । विगतका घटनाहरूको परिवेश, परिस्थिति र समयलाई नबुझी तीता घटनाहरू मात्र सम्झँदा समाजमा द्वन्द्व निम्तिन सक्छ । त्यसैले विगतका घटनालाई अहिलेको सन्दर्भमा मात्र हेर्ने कार्य सर्वथा उचित हुँदैन । हिजो जस्तो विसंगति आउन नदिन सबैले ध्यान दिनुपर्छ ।

१०४ वर्षको जहानिया राणा शासन राणा परिवारको शासनमा ढलिमली रह्यो । मुलुकको उच्च पदमा राणाबाहेक अरू हुनै पाएनन् । सेनामा कर्नेलसम्म पुग्ने रैती पनि कमै मात्र भए । सबै स्थानीय प्रशासनका प्रमुख बडाहाकिम राणाहरू नै भए । केन्द्रमा रहेका सबै कार्यालयका प्रमुखमा तैनाथवाला राणाहरू नै नियुक्त भए । समाज शासक र शासित दुवै वर्गमा बाँडियो । खानपान, आवास, हिडडुल आदिमा राणाहरूकै वर्चस्व रह्यो । राष्ट्रिय आयको अधिकांश भाग राणाहरूकै लागि छुट्याइएको थियो बोल्न, लेख्न, पढ्न, हिडडुल गर्न र खानलाउनसमेत नेपाली जनता वञ्चित थिए । कोठे गफबाट सर्वस्वहरण र आजीवन कैद भएको त प्रचण्ड गोरखा काण्ड जस्ता काण्डहरूले देखाए । प्रजापरिषद्, पुस्तकालय काण्ड, मकै पर्व जस्ता घटनाले राणाहरूको कठोर र निरंकुश नीतिको राम्रो परिचय दिन्छन् । विदेशी बैंकमा पैसा थुपार्ने कार्यको थालनी पनि तिनै राणा शासकहरूले गरेका थिए । राणा परिवारको आशीर्वाद नपाई सिपाहीको जागिरसम्म साधारण जनताले पाएनन् । राणाहरूले लिएका यस्ता नीति र असमान कार्यको लेखाजोखा गरी साध्य छैन तर राणाहरूले केही गरेनन् शोषण मात्र गरे भन्ने कुरा चाहिँ यथार्थमा आधारित छैन । राणाकालमा धेरै राम्रा जनहितका कार्यहरू भएका थिए । राणाकालीन इतिहासदर्शनको सिद्धान्त र मान्यताको आधारमा मूल्याङ्कन तथा विश्लेषण गर्ने समय आएको छ । आजको शासनमा देखिएका कतिपय अवाञ्छित र स्वार्थप्रेरित कार्य हेर्दा राणाकाललाई एकोहोरो धारे हात मात्र लगाउन सकिँदैन ।

जङ्गबहादुरदेखि मोहनशमशेरसम्म भएका सबै श्री ३ महाराजहरू राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता जस्ता कुरामा सजग थिए । अङ्ग्रेजसँग जतिसुकै घनिष्ठ भए तापनि राष्ट्रिय स्वाभिमानसँग उनीहरूले सम्झौता गरेनन् । जङ्गबहादुरले बेलायत यात्रा गर्दा पनि स्वतन्त्र देशको दूतको हैसियतले सम्मान पाउनुपर्ने तथ्यमा जोड दिए । फलत: स्वतन्त्र राष्ट्रको राजदूतकै मानमर्यादा पाए । उनले व्यापार र गोरखा भर्तीका विषयमा अङ्ग्रेजलाई प्रसन्न बनाउने नीति लिएनन् । सिपाही विद्रोहमा सरिक भएका अङ्ग्रेज राज्यका बागी ठहराइएकालाई नेपालमा शरण दिए । सिपाही आन्दोलनमा भारतलाई सहयोग गरी सुगौली सन्धिबाट गुमेका केही भूभाग फिर्ता ल्याए । भोटमा नेपालको वर्चस्व हुने गरी सन् १८५६ को थापाथली सन्धि गराए । पहिलो मुलुकी ऐन जारी गरे । यस्ता स्वभावजन्य कार्य धेरै गरे । धेरै लामो समयसम्म चलेको षड्यन्त्रकारी राजनीतिले गैरराजनीतिक स्थिरता कायम गर्नु उनकै सबैभन्दा ठूलो देन थियो । तर, जङ्गबहादुरले उचित सम्मान पाएनन् । भीमसेन थापालाई राष्ट्रिय विभूतिको मान दिँदा जङ्गबहादुरप्रति बिल्कुलै न्याय भएको छैन । यो शासकीय प्रभावको कारण हो । यसैले यस विषयमा पुनर्विचार गर्न मनासिप छ ।

नेपालबाट सतीप्रथा तथा दासप्रथा उन्मुलन गर्ने, त्रिचन्द्र कलेजको स्थापना गर्ने, नेपालमा रोपवे, सुरुङमार्ग, रेल, बिजुली आदि ल्याउने, प्रशासनिक व्यवस्थालाई सुदृढ बनाउने जस्ता उल्लेख्य कार्य चन्द्रशमशेरले गरेका थिए । सुगौली सन्धिबाट नेपालले गुमाएको प्रतिष्ठालाई सन् १९२३ को मैत्री सन्धिबाट प्राप्त गरी नेपालले एक स्वतन्त्र राष्ट्रको मान्यता पायो । राणा शासक सबैले अङ्ग्रेजका आवासीय दूतलाई नेपालको राजनीतिबाट पृथक् राखेका थिए त्यसैले कसैले पनि नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने धृष्टता गरेनन् तर चासो भने राखेका थिए । उनीहरूले कुनै पनि विदेशी राजप्रतिनिधिलाई आफ्नो देशको राजधानी भ्रमण गर्ने निम्तो दिएनन् । अङ्ग्रेज उच्च अधिकारीहरूले काठमाडौँ आउने चाहना राखेका थिए तथापि उनीहरूको उक्त चाहना पूरा भएन । राणा शासकहरूले उनीहरूलाई तराईमा सिकार खेलाई त्यतैबाट बिदा गरे । अन्य विदेशी अधिकारीलाई पनि सोहीअनुसारको व्यवहार भयो ।

संवत् १९९० सालको भूकम्पले हानि नोक्सानी भएकोमा अङ्ग्रेजले सहयोग गर्न चाहेको थियो तर पनि आन्तरिक स्रोत परिचालन गरी दैवी प्रकोपको सामना गरियो । कसैको अनुदान वा अन्य कुनै पनि प्रकारको सहयोग लिइएन । राणाहरूले बनाएका दरबार नै २०४७ सालपछि देशका प्रमुख प्रशासकीय अड्डा बनाइएका छन् । राणाकालमा बनेको सिंहदरबार जस्तो भव्य भवन जुन सधैँ पहिलो भयो, हालसम्म पनि दोस्रो भएको छैन । अहिलेको स्थिति फरक छ फोहोर उठाउन सांस्कृतिक धरोहर निर्माण गर्न पनि विदेशी सहयोगको याचना गर्ने गरिएका प्रशस्तै उदाहरण पाइन्छन् । विराटनगर जुट मिल्स, जुद्ध मैच फ्याक्ट्री जस्ता उद्योग, कलकारखाना राणाकालमा नै स्थापना भएका थिए । राणाकालमा स्थापना भएका कयौँ उद्योगहरू सञ्चालन गर्न उत्तराधिकारी सरकार सफल भएनन् । राणाकालमा हरियो वन नेपालको धन थियो तर त्यो अवस्था आज छैन । नेपालबाट भारत र भोट दुवैतिर खाद्यान्न पठाइन्थ्यो अहिले विपरीत अवस्था सिर्जना भएको छ । त्यतिवेला पशुपतिको भेटीबाट गरिब निमुखाको दासत्वमोचन गरिएको थियो । अहिले पशुपतिको भेटी कहाँ कसरी खर्च गरिएको छ कुनै लेखाजोखा छैन ।

राणाहरूले देखाएरै तलब भत्ता आदि लिएका थिए, लुकाएर होइन । अन्तत: राणाहरूले शोषण गरेर आर्जन गरेको सम्पत्ति राणाशाहीलाई नै धराशाही बनाउन प्रयोग भयो । सी क्लासका राणाहरूले उदारतापूर्वक आर्थिक सहयोग गरेकै कारण २०४७ सालको परिवर्तन आएको तथ्यलाई हामीले बिर्सनु हुँदैन । राणाकालकै दौडाहा प्रथा सफल थियो । जिल्लाका हाकिम र स्थानीय प्रशासकबाट जनताको उजुरीका आधारमा तत्काल दण्ड सजाय हुने गर्दथ्यो । हाल राष्ट्रिय सम्पदाको दोहन गरी नवधनाढ्य हुनेको सङ्ख्या बढेको छ ।

गोरखापत्रको प्रकाशन प्रारम्भ गर्दा देवशमशेरले मेरो प्रशंसाको कुरा नछाप्नू भन्ने निर्देशन दिएका थिए । वीरगञ्जमा श्री ३ को जयजकार गर्दा मेरो होइन, हिन्दुले श्रीरामको र मुसलमानले अल्लाहको जप गर्नू भनी पद्मशमशेरले भाषणमा नै बोलेका थिए । चन्द्रशमशेर तथा जुद्धशमशेर आदिका नाममा जनताबाट चन्दा उठाई धारा तथा पाटीपौवा बनाएकोमा सम्बन्धितको चन्दा फिर्ता गरी सम्पूर्ण खर्च आफैले दिएका थिए । यी त केही उदाहरण स्वरूप मात्र प्रस्तुत गरिएको हो ।

राणाकालमा सबै राणा श्री ३ महाराजहरूले स्तुतिगान र गुणानुवर्णन गरी लेखिएका र लेखाइएका कृति पनि धेरै छन् । पद्मजंगले आफ्नै पिता जंगबहादुरको जीवनी लेखेका थिए । सबैभन्दा बढी स्तुतिगान चन्द्रशमशेरकै पालामा भएको थियो । उनले टाइम्स पत्रिकाका संवाददाता पी ल्यान्डनलाई बोलाई किताब नै लेख्न लगाए । यसैगरी जुद्धशमशेरले ईश्वरीप्रसादबाट आफ्नो जीवनी छाप्न लगाए । २००७ सालपछि भने राणाहरूको विरोधमा बोल्ने लेख्नेहरू नै देशभक्त कहलाउने परिस्थिति निर्माण भयो । हिजो राणाको तारिफ गर्नेहरू नै आज विरोध गर्ने भए । स्वयं राणाहरूद्वारा लेखिएका पुस्तकहरूमा नै आफ्ना वंशजउपर मिथ्या आरोप लगाउने गरेको पाइन्छ । राणाहरूलाई तथानाम भन्ने र शाह राजालाई देवत्वकरण गर्ने क्रमले २०४६ सालसम्म निरन्तरता पायो । राणा शासनको अभ्युदय हुनुमा शाह राजाहरू नै प्रमुख रूपमा उत्तरदायी भएको चर्चापरिचर्चा गर्ने हिम्मत कमैले मात्र देखाए । त्रिभुवनकै आदेशबाट चारजना सहिद भएकोमा उनको नैतिक जिम्मेवारी थियो थिएन । चारजना सहिदको सालिकमाथि उनको सालिक किन राखियो ? आफ्नो स्वार्थ वा राष्ट्रिय स्वार्थ केका कारण त्रिभुवन हिन्दुस्थान गएका हुन् ? यसको लेखाजोखा पनि हुन बाँकी नै छ ।

राणाहरूले देखाएर खाए, आजको जस्तो लुकाएर खाएका थिएनन् । हिजो राष्ट्रिय सम्पत्तिमा रजगज गर्ने थोरै थिए तर अहिले त कति हो कति हिसाब नै गर्न अप्ठ्यारो परेको छ । राणाकालमा भएका राम्रा नराम्रा कुरा स्पष्ट रूपमा तथ्यगत रूपमा इतिहास दर्शनको सिद्धान्तअनुसार लेखन गर्न आवश्यक छ । हिजोआजको विकसित राजनीतिले राणा शासनलाई सुनपानी छर्कने काम गरेको अनुभूति हुन्छ ।

इतिहास लेखन विधाले निरन्तरता पाउँदा यसको क्षितिज फराकिलो हुने मात्र होइन, नवीन तथ्यका र आधारमा पनि इतिहास प्रकाशमा आउँछन् । यसैले नेपालीले नेपालको इतिहास लेखन विधालाई निरन्तरता दिनु आवश्यक छ ।