बालेनले सुकुम्बासी र हुकुम्बासीको कित्ता क्लियर गरे। डा. नीलकण्ठ पौडेल, नेता, प्रगतिशील लोकतान्त्रिक पार्टी।


तपाईं त २०८२ फागुन २१ मा सम्पन्न चुनावमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट समानुपातिक उम्मेदवार पनि बन्नुभएको थियो। चुनावको समीक्षा कसरी गर्नुहुन्छ?

जेनजी विद्रोहपछि फरक परिस्थितिमा २०८४ मा हुनुपर्ने चुनाव २०८२ मै आयो। हामीले छोटो समयमै प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेर चुनावमा भाग लियौँ। यो पार्टी बन्नुअघि विभिन्न घटक र समूहबाट आएका व्यक्तिहरू मिलेर यसको गठन भएको हो। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)जनार्दन शर्माले नेतृत्व गरेको समूह, सन्तोष परियारको समूह, त्यसपछि जेनजी समूहका भाइबहिनीहरू, र म आफैँ अध्यक्ष रहेको ‘आम नेपाली पार्टी’यी सबै मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी बन्यो।
हामीले छोटो समयमै राष्ट्रिय भेला र विस्तारित केन्द्रीय कमिटी बैठक गरेर चुनावमा जाने निर्णय गर्यौँ। वडा र जिल्ला समितिहरू पूर्ण रूपमा गठन नहुँदै हामी चुनावमा गयौँ।
हाम्रो लागि चुनावभन्दा पनि देश महत्वपूर्ण थियो। जेनजी आन्दोलनपछि देश संवैधानिक रूपमा लयभन्दा बाहिर गएको र तिक्तता बढेको अवस्था थियो। त्यसले राजनीतिक र संवैधानिक संकट निम्त्याउन सक्ने देखियो। त्यसैले छिटो चुनाव हुनुपर्छ भन्ने हाम्रो धारणा थियो। हारजितभन्दा पनि देशमा संवैधानिक रिक्तता नहोस् भन्ने उद्देश्यले हामी चुनावमा सहभागी भयौँ।

तर तपाईंहरूले सोचेजस्तो परिणाम आएन, है? मत पनि खासै धेरै ल्याउन सक्नुभएन?
यो चुनावलाई मैले विभिन्न कोणबाट विश्लेषण गर्छु। चुनाव भनेको उम्मेदवारको हारजित मात्र होइन। हामीले लिएको विचार र सिद्धान्तउन्नत समाजवाद र उन्नत लोकतन्त्र जनतामाझ पुर्याउनु र जनतासँग जोडिनु पनि महत्वपूर्ण कुरा हो।
चुनाव राजनीतिकर्मीका लागि राष्ट्रिय पर्वजस्तै हो। सबैले जित्न चाहन्छन्, तर मैदानमा उत्रेपछि हारजित अवश्य हुन्छ। त्यो प्राविधिक पक्ष हो। मुख्य कुरा विचारले जित्नुपर्छ।
हामी चुनावमा पराजित भयौँ। रवि लामिछानेको नेतृत्वमा रास्वपाले बहुमत ल्यायो। तर हामीले बाबुराम भट्टराईले परिकल्पना गरेको वैकल्पिक राजनीतिक धारलाई जनतामाझ बीउका रूपमा रोप्ने काम गर्यौँ।

चुनावमा गएपछि जनताले तपाईंहरूको विचार स्वीकार गरेनन् नि त? मत त आएन ?
म त्यही कुरा भन्न खोज्दैछु। हामीले एउटा राजनीतिक विचारको बीउ रोप्यौँ। हारजितका हिसाबले हेर्दा हामीले करिब २५ हजार मत पायौँ यो मत समानुपातिकको हो ।
हाम्रा करिब ८६ जना प्रत्यक्ष उम्मेदवार थिए, र समानुपातिकतर्फ पनि झन्डै ९० जना उम्मेदवार थियौँ। म आफैँ पनि समानुपातिक उम्मेदवार थिएँ। भर्खरै बनेको पार्टीका लागि यो परिणामलाई हामीले एउटा सुरुवातका रूपमा लिएका छौँ। भनेपछि यहाँलाई ठीकै हो भन्ने लाग्या छ?
मलाई के कुराले खुसी बनाएको छ भने—हामीले चुनाव हारे पनि, राजनीतिक पार्टीहरूप्रति जनताको दृष्टीकोण फेरीएको छ । हिजोका ठूला शक्ति भनिएका दलहरूको एकाधिकार र राजनीतिक सिन्डिकेट टुटेको छ। साथै, राजनीतिक विचारसँग जोडिएको दलीयकरण—जनतामा एउटा दलको रङ पोतिएको जस्तो अवस्था पनि यसपालि भत्किएको छ। जस्तो, हजुरबा कांग्रेस भए नाति पनि कांग्रेस, हजुरबा एमाले भए नाति पनि एमाले भन्ने चलन थियो। एउटा राजनीतिक रङ पुस्तौँसम्म सारिने अवस्था थियो। तर यसपालि जनताले त्यो तोडेका छन्।
अब जनता स्वतन्त्र भएका छन्, र उनीहरूले राजनीतिक रूपमा विकल्प खोज्न सक्छन्। चुनावमा अन्य शक्तिलाई पनि भोट दिन सक्छन्। पहिले कांग्रेस र एमालेका जनता जस्तो देखिन्थ्यो, तर यसपालि जसरी मत परिवर्तन भयो, त्यसले हाम्रो विचारको जित भएको महसुस हुन्छ।

यहाँहरू वैकल्पिक शक्ति निर्माण र वैकल्पिक विचार स्थापनाका लागि अघि बढिरहनुभएको थियो। पुराना दलको सट्टा नयाँ दलले जित्दा, आफैँले जिते जस्तो अनुभूति भएको हो?
हाम्रो मूल विचार राजनीतिक संस्कारको विकास हो। पुराना राजनीतिक शक्तिहरू जसरी भए पनि अन्त्य हुनुपर्छ भन्ने हाम्रो धारणा थियो। यी शक्तिहरूको व्यवहार, अपारदर्शिता, राजनीतिक चरित्र र भ्रष्टाचारले हामी आक्रान्त थियौँ। जनतामा पनि राजनीतिक दल र नेताप्रति गहिरो निराशा थियो। अर्कोतर्फ, जनतामा गहिरो दलीयकरण पनि थियो—कांग्रेसका जनता, एमालेका जनता भनेर छुट्याइन्थ्यो। संविधानिक निकायदेखि सरकारका विभिन्न अङ्गहरूमा समेत यही दलीयकरण व्याप्त थियो। यही कारणले भ्रष्टाचार बढेको हो। यसलाई चिर्ने चाहना जनतामा थियो।
त्यही उकुसमुकुसको अवस्थामा यो निर्वाचन भयो, जसले नयाँ शक्तिलाई झन्डै दुईतिहाइ समर्थन दियो। हामी अहिले प्रतिपक्षमा छौँ, वा भनौँ सडकमै छौँ। जनताले हामीलाई औपचारिक प्रतिपक्ष बन्ने अवसर पनि दिएनन्। तर हामीलाई आशा छ—जनताले मत परिवर्तन गर्न सक्छन् भन्ने देखियो, र यही सबैभन्दा ठूलो कुरा हो।
जब जनतामा राजनीतिक चेतना आउँछ, तब उनीहरू एउटै दलमा सीमित रहँदैनन्। अहिले जसले बहुमत ल्याएका छन रवि र बालेनको नेतृत्वमा बनेको सरकार—उनीहरूले राम्रो काम गर्नुपर्छ। यदि उनीहरूले राम्रो काम गरेनन्, दम्भ देखाए वा गल्ती गरे भने, जनताले सधैँ उनीहरूलाई नै भोट दिन्छन् भन्ने छैन। त्यतिबेला हामी पनि विकल्पका रूपमा आउन सक्छौँ।
त्यसैले जनतामा राजनीतिक चेतना र मत परिवर्तनको क्षमता अत्यन्त महत्वपूर्ण छ। यसपटक जनताले सही निर्णय गरेका छन् भन्ने हाम्रो विश्वास छ, र भोलिका दिनमा हामीलाई पनि रोज्न सक्छन् भन्ने आशा राखेका छौँ।

पुराना पार्टीका नेताहरूले भने यो सबै विदेशी डिजाइन हो भनेर आरोप लगाउने गरेका छन्। एमालेका संसदीय दलका नेताले समेत यस्तो भनिरहेका छन्, के यो सत्य हो?
म सानैदेखि एउटा कुरा सुन्दै आएको छु—फरक विचार राख्नेहरूलाई ‘विदेशी एजेन्ट’ भन्ने। यो कुरा मलाई कहिल्यै मन परेन। वास्तवमा, कसलाई विदेशी एजेन्ट भन्ने? अघिल्ला नेताहरू—मदन भण्डारी, मनमोहन अधिकारी, जीवराज आश्रित—उनीहरूलाई पनि यस्तै आरोप लगाइन्थ्यो।
यो एउटा राजनीतिक भाषा मात्र हो—विपक्षलाई गाली गर्ने माध्यम। कुनै पनि नेपाली जनता वा राजनीतिक पार्टी वास्तवमा विदेशी एजेन्ट हुँदैन। कांग्रेस, एमाले, माओवादी—कुनै पनि दल विदेशी एजेन्ट होइनन्। ‘विदेशी एजेन्ट’ भन्ने आरोप केवल विपक्षलाई कमजोर बनाउन प्रयोग गरिने शब्द हो, र हामी यसलाई खारेज गर्न चाहन्छौँ।
हाम्रो बुझाइमा, समस्या के हो भने नेताहरूले नेपालको पक्षमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक पहल प्रभावकारी रूपमा अघि बढाउन सकेका छैनन्। तर यसको अर्थ नेपाली जनता वा नेताहरू विदेशको इसारामा चल्छन् भन्ने होइन।
किन भन्छन् त?
यिनीहरूले जनतालाई के सम्झेका छन् भने—जनताले केही पनि बुझेका छैनन्, हामी मात्रै सबै जान्दछौँ भन्ने सोच राख्छन्। तर वास्तविकता के हो भने जनताले धेरै कुरा बुझेका छन्। केही हदसम्म उनीहरूको कुरा सही पनि हो। किनभने नेपालमा जब आन्तरिक द्वन्द्व हुन्छ वा कुनै समस्या आउँछ, विदेशी राष्ट्रहरू, कूटनीतिक निकायहरू, दूतहरू नेपालमा आइरहन्छन्। तर तिनीहरूको पनि आफ्नै स्वार्थ हुन्छ—नेपालबाट केही लिन चाहन्छन्।यो स्वाभाविक पनि हो। जस्तै, तपाईं–हामी घरमा झगडा गर्यौँ भने बीचमा अरू व्यक्ति खेल्न आउँछ। छिमेकीबीच विवाद हुँदा अर्को छिमेकी आउनु स्वाभाविक हो।
मुख्य कुरा के हो भने नेपाली जनता र नेपाली राजनीतिक दलहरू नै सबैभन्दा शक्तिशाली हुन्। विदेशीहरूले नेपालमा ठूलो हस्तक्षेप गर्छन् भन्ने मलाई लाग्दैन। यदि हामी आफैँ बलियो भयौँ भने त्यस्तो हुँदैन। जनतालाई भ्रममा राख्ने, आफ्नै एजेन्डा नहुने, हारिसकेपछि जनतालाई दोष दिने र सत्तामा आउने अर्को दललाई विदेशी एजेन्ट भन्ने—यो पुरानो रोग हो। मलाई लाग्छ यो हारपछिको प्रतिक्रिया मात्रै हो, यसलाई अन्यथा लिनु पर्दैन।

रास्वपाले यति धेरै जित्छ भनेर तपाईंले सोच्नुभएको थियो?

मैले त कदापि सोचेको थिइनँ। रास्वपाले यति मत ल्याउँछ, हामी यस्तो अवस्थामा पुग्छौँ भन्ने कल्पना पनि गरेको थिइनँ। अचम्मकै ढंगले जनताले भोट दिए—मानौँ सबै एक ठाउँमा भेला भएर एकैचोटि निर्णय गरेझैँ भयो।

पहिले नेताहरूको गठबन्धन हुन्थ्यो, अहिले जनताको गठबन्धन भएजस्तो लाग्छ।
हो, अहिले त जनताले नै गठबन्धन गरेजस्तो देखिन्छ।

यति धेरै मत आउनुको कारण के होला? विचार–सिद्धान्त मन परेर हो, विदेशी चलखेल हो, वा जनताले साँच्चै मन पराएर हो?
नेपाली जनता परिवर्तन चाहन्छन्, अपडेट हुन चाहन्छन्। उनीहरू स्थिर छैनन । छिटो परिणाम चाहने खालका छन्। ६२÷६३ सालको आन्दोलनपछि नेपाली जनताले ऐतिहासिक परिवर्तन गरे १९ दिने आन्दोलन र त्यसअघि माओवादी जनयुद्धमा पनि जनताले साथ दिए। जनयुद्धबाट उठेका केही मुद्दाहरू स्थापित भए—जस्तै गणतन्त्र र संघीयता। तर ६२÷६३ सालको आन्दोलन र शान्ति सम्झौतापछि राजनीतिक दलहरूले अपेक्षित गतिमा सुशासन दिन सकेनन्। माओवादीले उठाएका धेरै एजेन्डा नयाँ होइनन्न आज बालेन वा रविले उठाएका मुद्दाहरू पनि पहिले नै उठाइएका थिए। तर त्यसपछि कांग्रेस, एमाले र माओवादी सत्ता केन्द्रित भए। संसदमा अस्वस्थ राजनीतिक खेल बढ्यो। परिवर्तनको नेतृत्व गरेको माओवादी पनि त्यही प्रवृत्तिमा फस्यो। आफ्ना विचार–सिद्धान्त छोड्दै गयो र जनताका मुद्दाहरू ओझेलमा परे।
यसरी विकृत राजनीति विकास भयो। यही बिचमा २०७२ मा संविधान जारी भएपछि, बाबुराम भट्टराईले नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूले नयाँ ढंगले अगाडि बढ्नुपर्छ। भन्नु भयो हामी पनि जोडीयौ त्यसैले नयाँ आउदा ऐजेण्डाले जित्यो । आर्थिक समृद्धिमा जोड दिनुपर्छ, सुशासनमा पनि जोड दिनुपर्छ।
सुशासनका विषयहरू हिजो पनि उठाइएकै थिए। बाबुराम भट्टराई ले अघि सारेका अवधारणालाई पछि उज्ज्वल थापा को नेतृत्वमा विवेकशील समूहले पनि अघि बढायो। त्यसबेला कुलमान घिसिङ ले लोडसेडिङ अन्त्य गरेपछि, उहाँलाई सहयोग गर्ने र जनतामा सुशासनको मुद्दा उठाउने काम पनि भयो।
त्यसपछि रवीन्द्र मिश्र को साझा पार्टीसँग एकीकरण भएपछि केही धाराहरू परिवर्तन भए। यही क्रममा, स्वतन्त्र उम्मेदवारका रूपमा बालेन्द्र शाह (बालेन) मेयरमा विजयी भएपछि वैकल्पिक राजनीति मजबुत रूपमा अगाडि आउँदैछ भन्ने सन्देश गयो। यस सन्दर्भमा म रवि लामिछाने लाई नेपालको राजनीतिक परिवेशलाई राम्रोसँग बुझ्न सक्ने दूरदर्शी नेताका रूपमा लिन्छु। उहाँले समयमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुभयो र प्रारम्भमै २२ सिट जित्न सफल भयो।
यो जनआक्रोश अझै बढ्दै गएको थियो, अझै विस्फोट हुने अवस्थामा थियो। तर, यही समयमा विभिन्न मुद्दा लगाएर नयाँ उदीयमान शक्तिलाई दबाउने प्रयास गरियो। काँग्रेस, एमाले, माओवादीजस्ता दलहरूले नयाँ युवापुस्ताको उभारलाई निस्तेज पार्न खोजे, जसका कारण ‘जेनेरेशन–जी’ को विद्रोह देखियो र त्यसको परिणाम पनि आयो। त्यसैले यो परिवर्तन जनताको दृष्टिकोणबाट क्रमिक रूपमा आएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका लागि यो स्वाभाविक भए पनि पुराना दलहरूका लागि अप्रत्याशित देखिनु स्वाभाविक हो।

बालेन शाह नेतृत्वको सरकारले गरिरहेका गतिविधिलाई कसरी हेर्नुभएको छ?

अहिलेको बालेन सरकारको सुरुवात केही सकारात्मक देखिएको छ। बालेन्द्र शाह सक्षम र प्रतिभाशाली व्यक्ति हुनुहुन्छ। तर, उहाँले अझ बढी जवाफदेही र संवादात्मक शैली अपनाउनुपर्ने देखिन्छ। विपक्षी दलहरूसँग पनि सल्लाह गरेर, कूटनीतिक रूपमा अघि बढ्नु राम्रो हुन्छ। हाल केही निर्णयहरू एकलौटी रूपमा भएको जस्तो देखिन्छ, जसमा सुधारको आवश्यकता छ। यद्यपि अहिले नै कडा आलोचना गर्ने समय होइन, यो सुझाव मात्र हो।

उहाँले भ्रष्टाचारविरुद्ध कारबाही गर्नुभएको छ, सुकुम्बासी हटाउनुभएको छ, हैन?

सुकुम्बासी व्यवस्थापनको कदम सकारात्मक पक्ष पनि हो। यसले वास्तविक सुकुम्बासी र गैरकानुनी रूपमा बसोबास गर्ने (हुकुम्बासी) बीच फरक छुट्याएको छ। सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्दा वातावरण, स्वास्थ्य र सहरी व्यवस्थापनमा समस्या देखिएको थियो।तर, दीर्घकालीन समाधानका लागि व्यवस्थापन महत्वपूर्ण हुन्छ। वास्तविक सुकुम्बासी परिवारहरूलाई उचित स्थानमा बसोबासको व्यवस्था गर्नुपर्छ। जग्गा मात्र दिएर पुग्दैन त्यस स्थान नजिकै रोजगारीको अवसर पनि हुनुपर्छ। अन्यथा, पुनः समस्या दोहोरिन सक्छ। त्यसैले सुकुम्बासी व्यवस्थापन समग्र योजना र कार्यान्वयनसँग जोडिनुपर्छ।

आगामी दिनमा राजनीतिलाई कसरी हेर्नुहुन्छ?

वैकल्पिक राजनीतिको सन्दर्भमा हेर्दा, बाबुराम भट्टराई, उज्ज्वल थापालगायतले सुरुवात गरेको अभियान अहिले रवि लामिछानेजस्ता नेतृत्वमार्फत अगाडि बढिरहेको छ। यस अर्थमा हाम्रो अभियानले जित हासिल गरेको छ, भलै हामी अहिले प्रत्यक्ष रूपमा सत्तामा छैनौँ।
जनताले अहिले युवालाई अवसर दिनुपर्छ भनेका छन्। म पनि ४३ वर्षको भएँ। राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा, इन्जिनियर, डाक्टर, अपाङ्गता भएका व्यक्तिहरू, महिला, आदिवासी—सबैको प्रतिनिधित्व छ। यदि यो सरकार र नयाँ शक्ति सफल हुन सकेन भने भविष्यमा कुनै पनि पार्टी सफल हुन गाह्रो हुन्छ। त्यसैले अहिले सरकारलाई सफल बनाउन सहयोग गर्नु आवश्यक छ।
हामी आफ्ना राजनीतिक एजेन्डा लिएर पुनः जनतामाझ जानेछौँ। महाधिवेशनपछि नयाँ शक्तिका रूपमा अघि बढ्नेछौँ। यदि वर्तमान नेतृत्वले गल्ती गर्छ भने हामी अभिभावकको भूमिकामा रहेर मार्गदर्शन गर्नेछौँ। वैकल्पिक राजनीतिको अभिभावक हामी नै हौँ भन्ने हाम्रो धारणा छ। किनकि कहिले काही आफुले गरेको कामबाट आफmुाई ब्यत्तिलगत भन्दा ऐजेण्डाको जित हुन्छ जस्तो कि निर्वाचन ऐन २०८२ मा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने मेरो प्रयास थियो। हामीले क्लस्टरभित्र पनि अनुपात छुट्याउनुपर्ने माग राखेका थियौँ। यस विषयमा सर्वोच्च अदालतमा मुद्दा पनि दायर भयो, र अदालतले अपाङ्गता भएका व्यक्तिहरूलाई संसदमा अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने निर्णय गर्यो। त्यसपछि निर्वाचन आयोग र तत्कालीन नेतृत्वसँग समन्वय गरेर ऐन संशोधन गरियो। यसको परिणामस्वरूप अहिले पाँच जना अपाङ्गता भएका व्यक्तिहरू संसदमा छन्। म स्वयं नपुगे पनि, मेरो संघर्षले यो उपलब्धि हासिल भएको हो। अहिले रास्वपाको जित पनि त्यस्तै हो ।

समाजसेवाको क्षेत्रमा अहिले के भइरहेको छ?

चुनावमा सहभागी भए पनि मेरो उद्देश्य व्यक्तिगत कामका लागि थिएन। म विगत २५ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय छु। हाम्रा कार्यक्रमहरू निरन्तर रूपमा चलिरहेका छन्—अपाङ्ग विद्यालय सञ्चालन गर्ने, अपाङ्ग अधिकारका विषयमा बहस गर्ने, राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका लागि वकालत गर्ने आदि। साथै, अपाङ्गता भएका व्यक्तिहरूका मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने प्रयास पनि भइरहेको छ। हालै म यसै सन्दर्भमा बैंकक गएको थिएँ।

कार्यक्रममा के–के कुराहरू उठाउनुभयो? कस्तो खालको कार्यक्रम थियो?

थाइल्याण्डमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, उनीहरूले लिइरहेका तालिम, सीप विकास, र उनीहरूले उत्पादन गरेका सामग्रीहरूको बजारीकरणबारे हामीले अध्ययन गर्यौँ। त्यस क्रममा हामी बैंककस्थित नेपाली दूतावासमा महामहिम राजदूतज्यूसँग भेटघाट गरी छलफल पनि गर्यौँ।
त्यहाँ उपलब्ध सेवा–सुविधाहरू नेपालमा पनि लागू गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्यौँ। साथै, थाइल्याण्ड र नेपालबीच अपाङ्गता भएका व्यक्तिहरूका लागि सेवा–सुविधा आदान–प्रदान तथा सहकार्य आवश्यक छ भन्ने विषयमा पनि छलफल भयो।
हाम्रा सांस्कृतिक र धार्मिक मूल्यहरू पनि धेरै हदसम्म मिल्छन्। विशेषतः बौद्ध धर्मका कारण नेपाल र थाइल्याण्डबीच निकटता छ। बुद्ध नेपालकै लुम्बिनीमा जन्मनुभएको हुनाले पनि हामीले सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने धारणा बन्यो।

त्यहाँ कस्ता–कस्ता सुविधा दिएको रहेछ सरकारले?
थाइल्याण्डमा अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले अभिभावकको रूपमा हेर्छ। उनीहरूको हिँडडुल, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, र सवारी साधन सबै अपाङ्गमैत्री बनाइएको छ। यी सबै जिम्मेवारी राज्यले नै लिएको छ।
बालेन साह नेतृत्वको सरकारलाई अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा के गर्न सुझाव दिनुहुन्छ?
अपाङ्गता भएका व्यक्तिहरूको जिम्मेवारी राज्यले नै लिनुपर्छ। अहिले स्थानीय तहहरू—नगरपालिका र वडाहरूमा—अपाङ्गता सम्बन्धी छुट्टाछुट्टै बजेट छुट्याइएको हुन्छ। ती बजेटलाई एकीकृत गरेर ‘अपाङ्गता आयोग’ मार्फत सञ्चालन गर्नुपर्छ।
त्यस आयोगको प्रभावकारी नेतृत्वमार्फत अपाङ्गता भएका व्यक्तिहरूका लागि गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्न सकिन्छ। यस विषयमा सरकारसँग मेरो जोडदार माग छ।

भावी दिनमा सामाजिक कामका के–कस्ता योजनाहरू छन?
यसअघि २०१९ मा ‘ख्ष्कष्त ल्भउब ि२०२०’ अभियान अन्तर्गत मैले विदेशमा नेपालको प्रवद्र्धनका लागि काम गरेको थिएँ। त्यसपछि ‘न्यिदब िएभबअभ यल ब्चत बलम ऋगतिगचभ’ अभियानअन्तर्गत विभिन्न २७–२८ देशहरूको भ्रमण गरिसकेको छु।
कोरिया, क्यानडा, युरोप, जापान, अस्ट्रेलिया लगायतका देशहरूमा मेरा कार्यक्रमहरू निरन्तर जारी रहनेछन्। यसका लागि विदेशमा रहेका एनआरएन नेताहरू, दूतावास, अपाङ्गता भएका व्यक्तिहरू, नागरिक समाज, संयुक्त राष्ट्रसंघका प्रतिनिधि तथा पिस एम्बेसडरहरूसँग निरन्तर समन्वय भइरहेको छ।
‘द्यगममजब ध्बक द्ययचल ष्ल ल्भउब’ि भन्ने सन्देशसहित नेपाललाई शान्तिको देशका रूपमा चिनाउने अभियानमा लागिरहेको छु। अपाङ्गता भएका व्यक्तिहरू पनि शान्तिका वास्तविक प्रतीक हौं भन्ने सन्देश विश्वभर फैलाउने मेरो उद्देश्य हो, र यो अभियान निरन्तर अघि बढ्नेछ।

अन्त्यमा, दर्शकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
दर्शकहरू नै परिवर्तनका संवाहक हुनुहुन्छ। तपाईंहरूकै कारण समाजमा परिवर्तन सम्भव भएको हो, र अझै धेरै परिवर्तन आवश्यक छ।
समाजमा रहेका विकृति र विसंगतिहरूलाई रचनात्मक ढंगले विरोध र सुधार गर्न आवश्यक छ। साथै, सरकार र स्थानीय तहलाई ‘वाचडग’को रूपमा खबरदारी र सुझाव दिनुहोस्।
हामीले अध्ययनशील बन्नु जरुरी छ, केवल टिप्पणी गर्ने होइन। अपाङ्गता भएका व्यक्तिहरूलाई घरभित्र सीमित राख्नु हुँदैन। उनीहरूको इच्छा र क्षमतालाई बुझेर समाजमा उचित स्थान, माया–ममता र अवसर दिनुपर्छ।सबैजना जहाँ हुनुहुन्छ, सुखी र स्वस्थ रहनुहोस्।