अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान ’युद्धविराम’का लागि तयार भएकामा दिएका छन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन्।
अमरिकाको मध्यस्थतामा रातभरि भएको कुराकानीबाट भारत र पाकिस्तान पूर्ण युद्धविरामका लागि तयार भएको जानकारी गराउन पाउँदा प्रसन्न छु,’ उनले ट्रुथ सोसलमा लेखेका छन्।
दुई देशले बुद्धिमता देखाएको भन्दै ट्रम्पले भारत र पाकिस्तान दुवैलाई धन्यवाद ज्ञापन गरेका छन्।
भारत–पाकिस्तान तनाव बढ्दै जाँदा ट्रम्पले विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार भएको बताएका थिए। त्यसपछि शनिबार नै अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री इशाक डार र सेना प्रमुख असिम मुनिरसँग टेलिफोन संवाद गरेका थिए।
संवादमा उनले तनाव उत्कर्षमा पुगेको बेला भारत र पाकिस्तान दुवैले उच्च संयमता अपनाउनुपर्ने र वार्तामार्फत हल खोज्नुपर्ने बताएका थिए।
शनिबार दिउँसो नै पाकिस्तानी वरिष्ठ सैन्य अधिकारीले भारतीय वरिष्ठ सैन्य अधिकारीलाई टेलिफोन गरेपछि दुई आक्रमण रोक्न सहमति जुटेको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले बताएका छन्।


















