प्रतिनिधिमार्फत् पुटिनलाई ओलीको सन्देश- रुसी सेनामा नेपालीलाई भर्ना नगर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति भ्यादिमिर पुटिनलाई सन्देश पठाएका छन् ।रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्देश समेत पठाएको उनको सचिवालयले जनाएको छ ।

नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न राष्ट्रपति पुटिनलाई सन्देश पठाएका हुन् ।

उनले आफ्नो सन्देश पुटिनलाई सुनाइदिन प्रतिनिधिमण्डलको टोलीलाई आग्रह गरेको सचिवालयले जानकारी दिएको छ । भेटको क्रममा प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएका छन् ।