शुक्रबार चन्द्रमामा अवतरण गर्ने प्रयास गर्दा एउटा निजी जापानी यान दुर्घटनाग्रस्त भएको छ । टोकियोस्थित कम्पनी आइस्पेसले ल्यान्डरसँग सम्पर्क विच्छेद भएको केही घण्टापछि मिसन असफल भएको घोषणा गरेको छ ।
उडान नियन्त्रकहरूले सम्पर्क स्थापित गर्न लामो समयसम्म कडा प्रयास गरे, तर तिनीहरू सफल भएनन् । ‘जे भयो त्यसलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ मिसन असफल भएपछि आइस्पेशका संस्थापक एवं सीईओ ताकेशी हाकामादाले भनेका छन् ।
यस मिसनमा योगदान दिने सबैसँग उनले माफी पनि मागेका छन् । चन्द्रमाको सतहमा यान अवतरण गराउने कम्पनीको यो दोस्रो असफल प्रयास थियो ।


















