रसुवाको बाढीमा १८ जना सम्पर्कविहीन, प्रहरीसहित ९ जनाको उद्धार

 

रसुवाको बाढीमा बेपत्ता हुनेको संख्या १८ जना पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति ३ बजे चीनतर्फ रसुवाको गोसाइकुन्ड गाउँपालिका –२ रसुवागढीमा आएको बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा तीन प्रहरी, ९ जना नेपाली कामदार र ६ जना चिनियाँ कामदार रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ,प्रहरी जवानहरू मुन्ना ठाकुर र लोकेन्द्र बोहरा उद्धारमा खटिएका थिए। त्यसक्रममा उनीहरू तीनै जना सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।

बाढीमा फसेका ९ जनाको भने उद्धार भएको छ। सशस्त्र प्रहरी बलका एक जना, नेपाल प्रहरीका एक जना र सात जना स्थानीयलाई उद्धार गरिएको रसुवा प्रहरीले जनाएको छ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पुर्ण रुपमा क्षति भई मानिस र सवारी साधनमा आगत जावत बन्द भएको छ।

गोसाइकुण्ड गाउँपालिका– २ मा रहेको विद्युती सवारीसाधन चार्जिङ स्टेशनमा पनि क्षति पुगेको छ। बाढीले ७÷८ वटा विद्युतीय गाडी बगाएको र भन्सार कार्यालय यार्डमा क्षति पुगेको छ। साथै रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको प्रहरीले जनाएको छ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ।