बाढी र पहिरोल ठाँउ ठाउँमा सडक अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा कठिनाइ

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढी र पहिरोल ठाँउ ठाउँमा सडक अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा कठिनाइ भएको बताएका छन् ।

गाउँपालिका अध्यक्ष तामाङका अनुसार चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्लिएको बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रमा बढी क्षति पुगेको छ । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि पूर्णरूपमा बगाएको छ ।

अध्यक्ष तामाङले भने, ‘धेरै ठाउँमा बाटो भत्किएको छ । यसले उद्धार र राहतमा ठूलो समस्या भएको छ ।’

 

बाढीले ड्राइपोर्टमा राखिएका इलेक्ट्रिक गाडीहरू बगाएको र १५ जना हराइरहेको उनले बताए । जसमध्ये तीन जना नेपाल प्रहरी र केही चिनियाँ नागरिक छन् । उनकाअनुसार हालसम्म ९ जनालाई उद्धार गरिएको छ, तर प्रतिकूल मौसमले उद्धार कार्यलाई जटिल बनाएको छ ।

स्थानीय बस्तीमा भने अहिलेसम्म बाढी नपसे पनि खोलाको किनारमा रहेका हाइड्रोपावर र ड्राइपोर्टका संरचनाहरूमा ठूलो क्षति भएको उनले बताए ।

‘बाढीको जोखिम अझै छ, माथिल्लो क्षेत्रमा पानी पर्ने क्रम नरोकिएकाले सबैलाई सतर्क रहन भनेका छौं,’ उनले थपे ।