बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिएको छ । आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएको हो ।
प्रमुख स्वकीय सचिव लामाले आज हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाको राजीनामा पत्र बुझाउनुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । “मुख्यमन्त्री लामाको राजीनामा पत्र अहिले भर्खरै दिउँसो १ बजेरित हाम्रो कार्यालयमा आइपुग्यो”, प्रवक्ता सापकोटाले भने, “प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उपचार गराइ हेटौँडास्थित कार्यालय फर्किसकेको छ, अब छिट्टै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू हुन्छ ।”
सम्भवत: आजै प्रदेश प्रमुख देवकोटाले नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू गर्ने सम्भावना रहेको उनको भनाइ छ । मुख्यमन्त्री लामा पत्रकार सम्मेलन लगतै आइतबार साँझा राजीनामा बुझाउन हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेको थियो । तर प्रदेश प्रमुख देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किएको थियो । त्यसपछि उनी राजीनामा पत्रमा हस्ताक्षर गरेर प्रमुख स्वकीय सचिव लामालाई राजीनामा पत्र जिम्मा लगाइ काठमाडौँ हिँडे ।
यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले राजीनामा दिएको हो । मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलमा निर्वाचित बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।

















