विदेशी साथीहरुले नेपालले नचिनेको हिरा भन्छन्? आङतेम्बा शेर्पा, अन्तराष्ट्रिय मोडल,पर्यटन व्यवसायी

तपाईं सोलुखुम्बु जस्तो हिमाली जिल्लामा मध्यमस्तरको परिवारमा जन्मीएको व्यक्ति अहिले अन्तराष्ट्रिय स्तरमै चर्चित हुनुहुन्छ, सफलताको रहस्य के हो ? तपाईको मिहिनेत, भाग्य वा क्षमता ?
सफलता र असफलता के लाई भन्ने ? सफलता र असफलताको मानक मानिसले नै बनाएको हो । यसको परिभाषा पनि व्यक्ति पिच्छे फरक हुन सक्छ । यहाँले प्रश्न गर्नुभए जस्तै मलाई संञ्चार माध्यामका साथीहरुले तपाईं सफल व्यक्ति, प्रेरणादायी व्यक्तित्व भनेर भन्नुहुन्छ । अन्तरवार्ताहरु लिनुहुन्छ, तर मेरो आफ्नो कुरा गर्नुहुन्छ भने मैले तपाईं जे गर्नुहुन्छ, त्यसमा खुसी हुनुहोस, त्यही सफलता हो भन्ने गरेको छु । म त आफुले पनि जे काम गर्दछु , त्यो काम निर्धक्क भएर गर्दछु । पृथ्वीमा प्रकृतीले सबै जिवलाई खान, बस्न पुग्ने गरी संसाधन दिएको छ तर पनि मान्छेहरु खान लाउन अपुग भएर डौडिरहेका छन । नेपालको कुरा गर्ने हो भने त चार बटा सिजन छन । चारैवटै सिजनमा अनेक प्रकारका खाद्यनहरुको उब्जाउ हुन्छ । मिहिनेत गरेमा नेपालमा खान लाउन दु:ख हुदैन ।जहाँ सम्म तपाईले प्रश्न गर्नु भएको, सफलताको रहस्य के हो ? मिहिनेत, भाग्य वा क्षमता ?भन्ने छ, मत भन्छु एक नम्बरमा संघर्ष, ईमान्दारीता र परिश्रम हो । संघर्ष ईमान्दारीता र परिश्रम विना कोही पनि आफ्नो काममा सफल हुन सक्दैन । बेइमानी गरेर केही दिनलाई सफल जस्तो देखिएला तर त्यो दिर्घकालिन हुँदैन । ईमान्दारीता पुर्वक परिश्रम गर्यो भने ढिलो चाडो त्यसको मिठो फल प्राप्त हुन्छ ।

कयौं मान्छे ईमान्दा पनि हुन्छन निरन्तर परिश्रम पनि गरिरहेका हुन्छ तर सोचे जस्तो लक्ष्यमा पुग्न सकेका हँुदैनन र भन्छन भाग्यले साथ दिएन, भाग्यले साथ नदिएको हो कि क्षमता नपुगेको ?
मान्छेले आफैले आफै ठुलो मान्छे सफल वा असफल, धनी र गरिब भन्ने गरेका हुन । मेरो आफ्नो कुरा गर्नुहुन्छ भने म पनि केही होईन । एउटा मानव हुँ । पृथ्वीमा दुई किसिमको मानव हुन्छन । एउटा पुरुष अर्काे महिला । दुईटा मिलेर काम गर्नु पर्दछ । काम नै देवता हो । काम नगरी न खान लाउन पाईन्छ , न सफल भईन्छ । स्मार्ट इन्भेन्सन ईज डेन्जर फर नेचर । हुन त म पनि आविश्कार हुँ तर अन्तिममा आविस्कारले पृथ्वीको प्राकृतीकपनलाई घाटा पुराउँछ । मान्छे सबै बराबर हुन । कोही सानो ठुलो भन्ने हुदैन । काम पनि एउटा खेल हो । पृथ्वीमा हामी केही दिनको टुरिष्ट हो । पृथ्वीमा जन्मे पछि यसै मरेर जानु हुदैन । केही राम्रो काम गरेर जानुपर्दछ । पृथ्वी नै मेरो घर । स्वास्थ्य नै मेरो धन । यदि अहिले म स्वस्थ नभएको भए यसरी यहाँ सम्म आएर बोल्नै सक्ने थिईन । मान्छेले आर्थिक श्रोत जुटाउन अनेक ढाँटछल गर्दछन तर पृथ्वी नै मेरो घर भने पनि ढुक्कसँग खान लाउन पुग्दछ । मानिसले अर्काको देखासिकि र तुलना गर्दा दुखी बनिरहेको छ । अरुसँग तुलना नगरेर दुखी नबन्नु होस संसारको सबैभन्दा महत्वपुर्ण मान्छे तपाईँ आफै हो ।

तपाईं त एक जना अन्तराष्ट्रिय स्तरको मोडल पनि हुनुहुन्छ यो स्तरमा पुग्न कसरी सम्भव भयो ?
म अहिले जहाँ छु जे छु ,त्यो मेरो ईमान्दारीताले गर्दा हो ।

तिपाईं ईमान्दारी हुनुहुन्छ भनेर कम्पनी आफै खोज्दै त आएन होला नि ? यसको पनि त लामो प्रकृया होलानी होईन र ?
यसमा त अलि कति मान्छे कसरी मोडल बन्दछ भनेर बुझ्नु पर्नेहुन्छ । बाहिरबाट हेर्दा त मेरो शरीरमा दागै दाग छन । हात भाँचिई सकेको छ । हिमाल चड्न जाँदा हिउँ पहिरोले औला चुडाएको छ । हिउँ पहिरोमा परेर टाउको फुट्यो । खुट्टा भाँच्यिो, तर भगवानको कृपाले शरीर केही भएन । बाँच्न सफल भए । जहाँ सम्म मोडल कसरी बन्यो भन्ने छ । यसमा मैले धेरै काम गरे ती काममा सफल भए पछि त्यसकै परिणाम यो अवसर मिल्यो । एकै चोटी म अन्तराष्ट्रिय मोडेल बन्न सफल भएको होईन । विश्व विख्यात मोडेल बन्न विश्व विख्यात व्यक्ति हुनु पर्दछ । म मोडल बन्नु अघि विश्व विख्यात भई सकेको थिए । मोडेलको अवसर आउनु अघि मैले नेपाल सहित सातै महादेशका हिमाल चढ्न सफल भईसकेको थिए । समुन्द्रमा पौडी खेल्ने अन्तराष्ट्रीय प्रतिस्पर्धामा सफल भईसकेको थिए । रक कलाईम्वीनमा सफल भईसकेको थिए । आकासमा मानिस उठाउने प्रतिस्पर्धामा जीति सकेको थिए, जसको परिणाम यो अवसर मिल्यो । अर्काे कुरा तपाईं कस्तो खालको मोडल बन्ने ? मसलाको मोडल हो कि बियरको हो ? हेलिकप्टरको हो कि कपडाको हो ?।सबैमा अनुहार देखाए कम्वर मर्काएर मात्र मोडल बन्ने होईन । अन्तराष्ट्रिय बिज्ञापनमा खेल्न त उनीहरुले अन्तराष्ट्रिय बिज्ञापन गर्दछन । अनी त्यो कम्पनीको ख्यातीलाई सुहाउने खालको मान्छेलाई चयन गर्दछन । अन्तराष्ट्रमा जान अन्तराष्ट्रमा ख्याती कामएको हुनुपर्दछ ।

मेरो पालामा पनि विश्वका सातै महादेशका प्रतिस्पर्धी थिए त्यसबाट म छानिएको हुँ । मेरा ख्याती मेरो ईमान्दारीत र काम हेरेर छानेका हुन । प्रतिस्पर्धा गर्दा मुम्बईमा गएर त्यहाँबाट भारत लगायत मोडललाई जीतेर जेनेभामा गए । जेनेभामा पनि जीते । मेरो सोभाग्य म हिमाली क्षेत्रको शेर्पा । शेर्पा ईमान्दार हुन्छन भन्ने पनि भयो । अहिले मलाई विश्वको सातै महादेशमा कतै जान पनि रोक टोक छैन । त्यही भएर पृथ्वी मेरो घर भनेको हुँ । पृथ्वी उल्टो सुल्टो दुबै घुमी सकेको छु । त्यसैले मत भन्छु सबै भन्दा ठुलो ईमान्दारीता हो । ईमान्दारीता नै मेरो सम्पत्ति हो । प्रगतिको आधार पनि हो ।

यहाँले ईमान्दारीता नै मेरो सम्पत्ती हो , प्रगतिको आधार हो भने पनि धेरै जसो ईमान्दार व्यक्ति अगाडी बढ्न नसकेको देखिन्छ ?
शेर्पाहरु ईमान्दार भएकोले नै विश्वले बिश्वास गरेको हो । हामी शेर्पाहरुले मुलत: हिमाल आरोहणमा पथपर्दशन गर्ने गर्दछौ । हामीलाई विश्वले बिश्वास गर्दछन बिश्वास गरेको हो ।

शेर्पालाई विश्वले चिन्यो ,नेपाललाई शेर्पाले विश्वमा चिनाए तर नेपालले शेर्पा चिनेन भन्दा ठिक भनेको हुन्छ कि हुन्न ?
शेर्पाहरु एकठाँउमा बस्ने जाती पनि होईनन । हुन त सबै मानिसहरु आफ्नो गाँसबाँसको निम्ती एक ठाउँबाट अर्काे ठाउँ जाने गर्दछन । पशु पंक्षी चरा चुरुङगी पनि आहाराको निम्ती धेरै तिर घुम्छन । एक ठाउँमा मानिस तीन पुस्ता भन्दा बस्दैनन । मानिस घुम्ने जात हो घुम्ने गर्दछ । एउटा सरे अरु नयाँ जन्मन्छन त्यहाँ खाली ठाँउ हुदैन । शेर्पाहरुको जनसंख्या २ लाख साढे २ लाख जती छ । सातै वटै महादेशमा छरीएर रहेका छन । मलाई पनि विश्नमै बोलाउँछन तर मलाई नेपाल र नेपालकै हिमाल नेपालकै भु–भाग मन पर्दछ । त्यसैले नेपालमै धेरै बस्दछु ।

तपाईं नेपालमा प्यारा ग्लाईडीङ भित्राउने व्यक्तित्व पनि हुनुहुन्छ यो सोच कसरी आयो ?
स्पेसल्ली म ह्याङग्लाईडिङ, प्याराग्लाइडिङको पाईलट पनि हुँ भन्ने यहाँलाई बताए । म यही क्षेत्रको व्यक्ति भएकोले पोखरामा पहिलो चोटी प्याग्लाइडिङ उडाउने सोच आज भन्दा २८/२९ बर्ष अघि मैले ल्याएको हुँ । त्यस बेला त्यहाँका स्थानिय र सरकारी निकाय हवाई उड्यन प्राधिकरणले मलाई अप्ठ्यारोमा पारे । तर पनि स्थापना गर्यौ । मेरो एक जना लण्डनको साथी ,अर्को निरु तामाङ भन्ने साथी र एक जना रसियन साथी मिलेर त्यो गर्न खोजेका थियौ । जहाँ सम्म सोचको कुरा छ मैले युरोपबाट ह्याङग्लाईडिङ, प्याराग्लाइडिङको लाईसेन्स प्राप्त गरे पछि यो गर्न खोजेको हुँ । यसो गर्दा पर्यटक आउछन् भनेर हो तर अहिले दुरभाग्य सिभिल एभिएसनले सारङकोटमा ह्याङग्लाईडिङ, प्याराग्लाइडिङ रोक्यो ।

आफ्नै हेलिकप्टर कम्पनी छ कस्तो चल्दै छ ?
एभिए क्लव एयरलाईन्समा समावेश छु । छ सात वटा अल्टा लाईट एयर क्राप्ट र उल्टालाईट हेलिकप्टर छन । साथी भाईका हेलिकप्टर र एयरलाईन छन त्यसमा पनि चढ्दछु ।

तपार्इं त बाल्यकालमै सगरमाथ चढ्नु भयो सगरमाथा चढ्दाको अनुभव कस्तो रहयो ?
यो प्रश्न धेरैले गर्नुहुन्छ तर म १२/१३ बर्षको उमेरमा बुवासंग गएको हुँ । हिमाल चढ्ने कुरा गर्दा मैले नेपालका सबै जसो हिमालमा विदेशी चढाएको छु । नेपाल मात्र होईन मैले सातै महादेशका धेरै हिमालहरु चढाएको छु । हाम्रो काम हिमाल चढाउने हो । हिमाल चढ्नेको नाम हुन्छ । हामी त चढाउने हो । हामीले बोकेर लगेर चुचुरोमा पुराए पछि उनीहरुले झण्डा गाड्छन । झण्डा गाड्नेको नाम आउँछ हाम्रो त आउँदैन । त्यही भएर हामी शेर्पालाई ईमान्दार भनेका हुन ।

अहिले सम्म कति मान्छेलाई शिखर चढाउनुभयो ?
हजारौ मान्छे चढायौ । यो व्यक्तिगत भन्दा पनि कम्पनी बाट । हिमाल चढ्ने स्वदेशी होउन वा विदेशी शेर्पा बिना हिमाल चढ्न सक्दैनन । बेसक्याप, एक नम्बर , दुई नम्बर क्याप सम्मत शेर्पाले खान खुवाएर, दिसा, पिसाब गराएर, कपडा लगाई दिएर पुराउँछन ।त्यस पछि झण्डा लगेर चुचुरोमा जाने नहुन । चुचोरोमा चढ्ने बेलामा एक्लै गएर झण्डा गाडेपछि कृती मानी कायम गरेको भन्छन । त्यही भएर हामी हाँस्छौ ।

विश्वका अग्ला हिम चुचुराहरु आफू चढ्दा र अरुलाई चढाउँदा कस्तो अनुभुती हुन्छ ?
हामी ट्रेकिङ पेसामा लाग्नेहरु आफू चढ्ने भन्दा पनि अरुलाई चढाउनु नै आफ्नो ईमान्दारी ठान्छौ । हिमाल चढ्न चाहनेलाई हिमाल चढाएर उसको घर दैलोसम्म सकुशल पुराउछौ । हिमाल चढ्दै गर्दा एयरपोर्ट र बेसक्याम्पबाट मात्र होईन हिमालका चुचुराबाट उनीहरुका घर परिवार र अभिभावकसंग सम्पर्क गराई रहन्छौ । आरोहि महिला पनि हुन्छन । पुरुष पनि हुन्छन । उनीहरु स्वदेश, बिदेश जहाँका पनि हुन्छन । विभिन्न उमेरका हुन्छन । हामीले सबैलाई ईमान्दारीताका साथ हिमालका चुलीचुली पुराउँछौ । अहिले त म उमेरले तीन बीस भन्दा बढी भए, उमेरकै कारण पनि हिमाल चढुदिन चालीस, पैताली सम्म ठिकै हो नत्र अलि बढी जोखिम हुन्छ । म बाल्य काल मै चढडेको हुँ, अहिले युवाहरु बढी चढुछन, तर म हिमाल चढ्ने कुराको बिशेषज्ञ हुँ । मैले धेरै बर्ष अघि नै युरोपबाट हिमाल आरोहण बिषयमै डिप्लोमा पनि गरेको हुँ ।

हिमाल चढ्नु सहज काम त होईन तर पनि मान्छेहरु चढिरन्छन किन होला ?
जो स्वईच्छाले आफु हिमाल चढ्छन । उनीहरुको लागि हिमाल चढ्नु रहर र शाहसिक काम हो । तर जसले हिमाल चढाउँछन ,उनीहरुको लागि हिमाल चढ्नु शाहसिक काम र बाध्यता दुबै हो । परिवार चलाउनु पनि पर्यो । एक पटक हिमाल चढे पछि दुई चार लाख कमाई हुन्छ । अर्काे पछिल्लो समय हिमाल चढ्नु व्यापार व्यवसायसंग पनि जोडिएको छ । व्यापारीक र व्यवसायीक कम्पनहिरुका बिज्ञापनको लागि पनि हिमाल चढ्छन । मेरो आफ्नो कुरा सोध्नु हुन्छ भने हो मैले हिमाल चढेर हिमाल चढाएर जीवका धेरै बर्षहरु बिताए तर यो उमेरमा आएर म त के भन्छु भने हिमाल चढ्नु हँुदैन । हिमाल चढेर केही हँुदैन । केवल हिमाल प्रदुषीत बन्छ । हिमाल त चढ्ने होईन । हिमाल हेर्ने हो । हिमाल चढेर कसले के पायो रु बर्षमा चार हजार मानिस त सगरमाथा चढ्न सगरमाथाको आधार शिविरमा पुग्दछन । उनीहरुले दिसा पिसाब गरेर हिमाल दुषीत गर्ने भन्दा अरु के फाईदा छ र ? अझ कयौका त लाश पनि त्यही छन । पहिला पहिला हिमालको वातावरण स्वच्छ थियो अहिले हिमालको वातावरण पनि प्रदुषीत बनि सक्यो । नेपालको मात्र होईन, विश्वभरी कै हिमाल चढ्ने होईन । हिमाल हेर्ने हो ।

तपाईं त न्युजील्याण्ड होल्याण्ड, ईङल्याण्डको पर्यावरण बचाउने अभियानको ब्राण्ड एम्बेस्डस पनि हुनु हुन्छ होईन त ?
हो, मलाई न्युजील्याण्ड, होल्याण्ड ,ईङल्याण्डको रारा काउ भन्ने एउटा कार्वन क्रेडिट किम्पनीको बिज्ञापनमा मोडलिङ गर्न प्रस्ताब आयो । मेरो सोचाई पनि पर्यावरण बचाउने अभियानमा लाग्ने थियो । त्यसैले म त्यसको ब्राण्ड एम्बेस्डस बने । म पनि रुख रोप्ने कृर्षीलाई बढवा दिनुपर्दछ भन्ने सोचको व्यक्ति न्युजील्याण्डको रारा काउ भन्ने कार्वनके्रडिट कम्पनीको पनि यहि उदेश्य भएकोले त्यसलाई लिएर हिडिरहेको छु । मानिस बाँच्न अक्सीजन चाहिन्छ । हरियाली बढाएर अक्सीजन बढाउने अभियानमा छु ।

बिगतमा हिमाल चढ्नुभयो, मोडलिङ गर्नुभयो, अन्य धेरै व्यवसाय पनि गर्नुभयो तर अहिले पछिल्ला बर्षहरुमा कृर्षी पर्यटन अभियानमा हुनुहुन्छ । किसान दुनियाकै सबै भन्दा ईमान्दार व्यक्ति भन्नुहुन्छ, यो सोच कसरी आयो ?
कल कारखाना वा रकेट प्लेन जे भन्नुस सबै प्रदुषण बढाउने माध्यम नै हुन । भन्न त चन्द्रमामा पुगे भन्छन ,यो पनि पृथ्वी मात्र नभएर चन्द्रमा समेत प्रदुषीत गर्ने काम हो । जहाँ सम्म कृर्षी पर्यटनको कुरा छ । मानिस बाँच्नको निम्ती खानु पर्दछ । खाद्यन उत्पादन गर्ने किसानले नै हो। किसानले पृथ्वीको वातवरणलाई हानी नपुराई आफ्नो काम गर्दछन ।उनीहरु बाहेक चाहे डाक्टर वकिल जे भन्नुस यी ठग हुन । कृर्षीमा पनि अझ अर्गानिक उत्पादनमा जोड दिनुपर्दछ । कृर्षी पर्यटन भन्नुको एउटा पक्ष यो भयो ,अर्काे पक्ष भनेको यो बिचमा म नेपालका सबै जिल्ला घुमे । प्रकृतीले हामीलाई हिमाल देखि तराई सम्म विभिन्न फरक फरक हावापानी दिएको छ । फरक फरक मौसम दिएको छ । यो फरक फरक धरातल, मौसम र हावापानीमा फरक फरक बालीनाली लगाउन सकिन्छ । तर अहिले उब्जाउ भुमिहरु बाझै छन । यस्ता उर्भर भुमिहरु बाझै नराख्ने त्यहाँ रैथाने बालीहरु लगाउने हो भने खान पुग्ने मात्र होईन बेच्न समेत पुग्दछ । यो कुरा एक दुई जनाले मात्र भन्ने हो भने धेरैले नसुन्लान । अभियान नै चलायो भने धेरैले सुन्लान भनेर अभियान चलाएको हुँ । हामी त कति भाग्यमानी अमिलो ,पिरो ,गुलीयो ,तितो पञ्चतत्व सबै हाम्रै भुमिमा उब्जाउन सकिन्छ । आकास र धर्ती मिलेर हामाीलाई दिएको छ । मेरो बाजे गाँउको सबै भन्दा धनि मान्छे । उहाँका १२ भाई छोरा छोरी । १२ भाईका अलग अलग घर छन् । हजुर बुवालाई काठमाडाँै नआए पनि चल्यो त । उहाँ रैथाने तरीकाले बस्नुभयो । आनन्दको जीवन जीयर बित्नुभयो ।

आनन्दको जीवनजीउन त धन पैसा चाहिएला नि ?
मानिसहरु धेरै पैसा कमाउन तिर लागे तर पैसा पनि कृतीम चिज हो । पैसा खान त मिल्दैन खाने त किसानले उत्पादन गरेका चिज नै हो । बम बारुद बनाएर, प्लेन बनाएर मात्र त हुँदैन । ती खान मिल्दैन । खाने त किसान कै उत्पादन हो । त्यसैले मैले किसानलाई सम्मान गरेको हुँ ।

तपाईले त राष्ट्रिय खाद्य बैंक लिमिटेड पनि स्थापना गर्नुभयो यो सोच कसरी आयो ?
खास गरी कोभिडका महामारीका बेला मानिसहरु खान नपाएर समस्यामा परेको देखे पछि राष्ट्रिय खाद्य बंैक खोल्ने सोच आयो । तर मैले यसो भन्दा यसले एउटा लशुन त रोपेको छैन के गर्ला र समेत भने । उनीहरुलाई के थाहा यो काम गर्न विश्व बैंकले पनि सहयोग गर्दछ भन्ने । बंैक खोल्यो भने धेरै काम गर्न सकिन्छ । कृर्षी बिशेषज्ञहरु किसानकोमा पठाउन सकिन्छ । करोडौ अर्बैको काम गर्न सकिन्छ । अहिले ७७ जिल्लामा नै अध्ययन भईरहेको छ । काम पनि भएको छ । उत्पादन गर्न कसैलाई पैसा अभाव भए राष्ट्रिय खाद्य बैंकबाट पैसा लिएर लगानी गर्न सकिन्छ ।

तपाई त समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, माईती नेपाल,एसओएस पोखरा स्थापना गर्दा पनि धेरै रकम जुटाई दिनुभएको थियो हैन ?
यस्ता सामाजिक कामहरु गर्न आर्थिक चाहिँन्छ । नेपालमा धन र मन दुवै भएका नभएका त होईन तर त्यतीले पुग्दैन । बिदेशको एक डलर साटे नेपालमा एक सय चालिस हुन्छ । स्वीसको त अझ एक सय सत्तरी हुन्छ । बिदेशमा धन पनि भएका मन पनि भएका धेरै छन । हामीले उनीहरुलाई यस्तो काम गर्दैछौ भनेर भने पछि उनीहरुको भिजन र मिसन मिलेमा सहयोग गर्दछन । नेपाल जस्तो बिकासमा पछि परेको ठाउँमा सहयोग गर्दा खुशी पनि हुन्छन । त्यसैले माईती नेपाल, एसओएस पोखरा स्थापना गर्दा मैलै आफै दिएको भन्दा पनि बिदेशीलाई अनुरोध गरे । उनीहरुले मलाई विश्वास गरे बोली बिक्यो जसले गर्दा अहिलेको हिसाब गर्ने हो भने त करोड होईन अर्बकै सेरोफेरो रकम जुटे होला ।वातावरणको निम्ती पनि उहाँहरुले सहयोग गर्नुहुन्छ । मैले नेपालमा मात्र होईन रुवाण्डा, कास्मीर लद्दाक ,तिब्वत तिर पनि सहयोग गर्न जान्छु । मैले माथि नै भने सिंगो पृथ्वी मेरो घर हो । घर जहाँ पनि हुन सक्छ तर जन्न भुमि नेपाल हो । जन्मभुमि दुई ठाँउ हुदैन । पशु पंक्षी चरा चरुङगीले पनि जन्म स्थलको माया गर्दछन । म त मान्छे । जन्म स्थलको स्वभाविक र रुपले अली बढी माया लाग्दछ ।

युवाहरु बिदेश जाने उतै बस्ने क्रम बढ्दो छ के भन्नु हुन्छ ?
विश्वका विभिन्न देश घुम्दा नेपाली युवाहरु भेट्छु कयौ त पर्दा पछाडी लुकेर बसेका पनि छन ,त्यो देख्दा दु:ख पनि लाग्दछ । पढ्न सिक्न बिदेश जान सकिन्छ । उतै बस्न पनि सकिन्छ किनकि मानिस एक ठाँउमा अडिने जात होईन, तर जन्मभुमि जस्तो अन्यत्र हुदै सिप सिक्ने, बिदेश घुम्ने नेपालमै आएर त्यहाँको ज्ञान र सिप प्रयोग गर्दा राम्रो हुन्छ । नेपालमा युवा विदेशीदा जमिन बाझो छ, यस्तै हो भने महिलाहरु समेत बाझै रहने दिन आउन वेर छैन् । यस्तो हुन दिनुहुन्न् । त्यस्तै जहाँ गएर बसे पनि ईमान्दार बन्नु पर्दछ । अहिले विकास खोज्दै युरोप अमेरिका जाने युवा पनि छन ।अमेरिका युरोप त हामी भन्दा सय बर्ष अगाडी छन । नेपाल विकासमा पछि छ । तर बिस्तारै नेपालमा पनि आफ्सेआफ विकास हुन्छ । समयसगै बिकास पनि हुन्छ । पहिला गाडी बोकेर ल्याएको अहिले युरोप देखि गाडी गुडेर आउछन । म त भन्छु , तीब्र बिकास पनि राम्रो होइन । रैथानेपनलाई बढवा दिनुपर्दछ ।

यहाँ त टुरीजम ट्यालेन्ट नेपालको जज पनि हुनुहुन्छ होईन ?
हो ,मेरो साथी बिजय कुमार ढकालले टुरीजम ट्यालेन्ट नेपाल भनेर अगाडी बढी रहनुभएको छ । मैले पनि नेपालमा मात्र होईन ,त्यसलाई अन्तराष्ट्रिय स्तरको कसरी बनाउन सकिन्छ भनेर हेर्दै छु ।

तपाईंलाई नेपालले नचिनेको हिरा पनि भन्छन् नि ?
हो, विदेशी साथीहरुले तिमी नेपालले नचिनेको हिरा पनि भन्छन ।