काठमाडौं । जेन जी आन्दोलनको दोस्रो दिन मंगलबार काठमाडौंलगायत देशका प्रमुख शहरहरू पनि प्रदर्शन जारी छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लागू गरे पनि प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् । सोमबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा १७ जना र इटहरीमा २ जनाको मृत्यु भएको थियो ।
प्रदर्शनकारीको निसानामा ठूला दलका प्रमुख नेताहरूका निवास परेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पनि तोडफोडको भएको छ । प्रदर्शनकारीहरूले उनकाे निवासमा आगजनीको प्रयास गरेका छन् । यस्तै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पनि तोडफोड भएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित घरमा तोडफोड भएको छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा तोडफोड तथा आगजनी गरेका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्थित विष्णु पौडेलनको निवासमा पनि तोडफोडको प्रयास भएको छ । यस्तै गृहमन्त्रीबाट राजीनामा दिएका कांग्रेस नेता रमेश लेखकको नैकापस्थित निवासमा पनि तोडफोडको प्रयास भएको छ ।
यस्तै कीर्तिपुरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा पनि तोडफोड भएको छ । झापास्थित एमाले पार्टी कार्यालयमा पनि तोडफोड भएको छ ।
यस्तै एमाले सचिव रघुविर महासेठको जनकपुरस्थित घरमा पनि तोडफोड भएको छ । उता रुपन्देहीस्थित कांग्रेस नेता बालकृष्ण खाँणको घरमा पनि प्रदर्शकारीले तोडफोडको प्रयास गरेका छन्


















