रोमानियाले आफ्नो हवाई क्षेत्रमा रुसी ड्रोन प्रवेश गरेको बताएको छ। यसरी रुसी ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको रिपोर्ट गर्ने यो दोस्रो नेटो राष्ट्र हो।
रोमानियाको रक्षा मन्त्रालयका अनुसार, शनिबार युक्रेनमा रुसी हवाई हमलाको अनुगमन गरिरहेका दुई एफ-१६ लडाकु विमानले युक्रेनको दक्षिणी सिमाना नजिक उक्त ड्रोनलाई ट्र्याक गरेका थिए।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यो घटनालाई ‘गल्ती हुन नसक्ने, बरु रुसले जानाजानी युद्ध विस्तार गरेको’ बताएका छन्। यसबारे मस्कोले कुनै टिप्पणी गरेको छैन।
यसअघि, बुधबार पोल्यान्डले पनि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका कम्तीमा तीनवटा रुसी ड्रोन खसालेको बताएको थियो। पोल्यान्डको प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्नो र सहयोगी राष्ट्रहरूको हवाई सुरक्षा प्रणालीलाई उच्च सतर्कतामा राखिएको बताएका छन्।
रोमानियाली रक्षा मन्त्रालयले चिलिया भेचे गाउँभन्दा २० किलोमिटर दक्षिण-पश्चिममा ड्रोन पत्ता लागेको र त्यसपछि राडारबाट हराएको बताएको छ। यद्यपि, उक्त ड्रोनले कुनै जनघनत्व भएको क्षेत्रमाथि उडान नगरेको र तत्काल कुनै खतरा नभएको मन्त्रालयको भनाइ छ।
युरोपेली संघका विदेश नीति प्रमुख काजा कालासले यो घटनालाई ‘ईयू सदस्य राष्ट्रको सार्वभौमिकताको अस्वीकार्य उल्लङ्घन’ भन्दै निन्दा गरेका छन्।


















