अहिले एउटा प्रश्न तीब्र रूपमा उठिरहेको छ — के यो सरकारले आगामी चुनाव गराउन सक्छ? के यो आन्दोलनको दबाबले पुराना पार्टीलाई झुकाउँछ, वा पुराना कै हालीमुहाली रहन्छ? जेनजी आन्दोलन भएको पनि एक महिना भइसक्यो। तर यसको प्रभाव अझै सत्ता, दल, र सडक तीनै क्षेत्रमा गुञ्जिरहेको छ। यो आन्दोलनमाथि आरोप पनि लागे, समर्थन पनि बढ्यो। तर एउटा कुरा स्पष्ट छ —नेपालको मौन युवाशक्ति अब देशको चुनावी समीकरण बदल्न तयार छ?
नेपालको राजनीतिक इतिहासमा युवाहरूको आन्दोलनले सधैं विशेष स्थान पाएका छन्। २०३६,२०४६ को जनआन्दोलनदेखि २०६२/६३ को लोकतान्त्रिक आन्दोलनसम्म युवाको योगदान निर्णायक रह्यो। तर पछिल्लो समय देशमा राजनीतिक विश्वास घट्दै जाँदा, नयाँ पुस्ता—जसलाई “जेनजी”ले नयाँ शैली र सोचसहितको आन्दोलन सुरु गर्यो। जेनजी आन्दोलनको पहिलो उपलब्धि भनेको सामाजिक चेतना र राजनीतिक जागरण हो। लामो समयसम्म ‘राजनीति फोहर’ भन्दै बेवास्ता गर्ने युवाहरू अहिले देशका नीति–निर्माणमा आफ्नो भूमिका देख्न थालेका छन्। सडकमा प्लेकार्ड लिएर “अब हामी मौन छैनौं” भन्ने युवाहरूले नेतृत्वविहीन आवाज बुलन्द गर्न सकिन्छ भन्ने सन्देश दिएका छन्।
जेनजीले पहिलो पटक सत्तासँग प्रत्यक्ष प्रश्न उठाए —“हामीले भोट दिएको प्रणाली हाम्रो पक्षमा कहिल्यै किन काम गर्दैन ? यही प्रश्नबाट सुरु भएको आन्दोलनले अहिले राजनीतिक बहसलाई नयाँ दिशातर्फ मोडेको छ। टिकटकदेखि सडकसम्म, युवाहरू अब केवल टिप्पणी गर्दैनन्, दबाब सिर्जना गर्छन्।
चुनावमाथि आन्दोलनको प्रभाव
जेनजी आन्दोलनको एक महिनाको गतिबिधिले सत्तापक्षमा असहजता ल्याएको छ। सरकारले निरन्तर स्थायित्वको नाममा चुनाव टार्ने संकेत दिँदै आएको थियो, तर जेनजी आन्दोलनपछि यो रणनीति नै प्रश्नमा परेको छ। नेताहरू युवाको आक्रोशलाई बुझेर संवाद गर्न थालेका छन्, तर त्यही संवादले सत्तालाई अझै तनावमा पुर्याएको छ। कसैले खुलेर भन्छन् —“यदि यो लहर चुनावसम्म पुग्यो भने, पुराना दलहरूलाई ठूलो झटका लाग्नेछन्।” यदि तोकीएको मितिमा चुनाव भएन भने देश अनिश्चिता तर्फ लाग्ने छ ।
सामाजिक सञ्जालदेखि मतपेटीसम्मको यात्रा
जेनजी आन्दोलनले ल्याएकोे प्रमुख उपलब्धि भनेको सामाजिक सञ्जाललाई राजनीतिक दबाबमा रूपान्तरण गर्नु हो। हिजो फेसबुक र टिकटकमा मात्रै विरोध लेख्ने युवाहरू आज मतपेटीका र प्रणालीको महत्व बुझ्दै छन्। त्यसैले विश्लेषकहरू भन्छन् —यदि यो आन्दोलनले आगामी महिनामा आफ्नो अभियानलाई “भोट बिउँताउने आन्दोलन” मा बदल्न सक्यो भने, सत्ताले चुनाव टार्ने साहस गर्न सक्दैन।
जेनजीमाथिको आरोप र जवाफ
“जेनजी आन्दोलन केवल आक्रोश हो, त्यसले चुनाव जस्तो गम्भीर प्रक्रियामा दबाब दिन सक्दैन।” तर त्यही आलोचकहरू बिर्सन्छन् —२०४६ र २०६२ को आन्दोलन पनि सुरुवातमा ‘भावनात्मक’ भनिएका थिए। आजको युवाशक्ति केवल नारामा सीमित छैन। नीति पढ्छन्, कानुन बुझ्छन्, र सत्ताले कसरी जनताको अधिकार खोसेको छ भन्ने जान्दछन्। त्यसैले जेनजी आन्दोलन भावनाको उत्तेजना होइन, राजनीतिक चेतनाको जागरण हो।
सत्ताको डर, युवाको संकल्प
जेनजी आन्दोलन सुरु भएपछि सत्तामा बस्नेहरूले चुनावलाई परिणममुखी बनाउन हिचकिचाउन थालेका छन्। किनकि उनीहरूलाई थाहा छ, मतदाता अब केवल भोट होइन, प्रश्न पनि गर्छन् । युवाहरूले सडकमा भनेजस्तै, “यदि चुनाव नगर्ने बहाना खोजियो भने, हामी सत्तालाई फेरि सडकमै जवाफ दिनेछौं।”
यो चेतावनी अब केवल नारा होइन, सत्ता–संरचनाको कानसम्म पुगिसकेको सन्देश हो। चुनाव गराउन सक्ने कि नसक्ने? सारांशमा प्रश्न यही हो — के जेनजी आन्दोलनले चुनावलाई परिणममुखी बनाउन सक्छ?
सिधा भन्दा सक्छ, यदि निरन्तरता रह्यो भने। कारण, देशको वास्तविक शक्ति अहिले सडक र सामाजिक सञ्जालमा छ। नेताहरूलाई डर मतपेटीबाट होइन, युवाको एकताबाट लागेको छ । तर यदि आन्दोलन भावनामा मात्रै सीमित रह्यो, संगठन र नीति निर्माणतर्फ लागेन भने, सत्ताले फेरि ढिलाइ गर्ने अवसर पाउनेछ। चुनावको कुञ्जी युवाको हातमा छ ।
जेनजी आन्दोलनले पुरानो राजनीति हल्लायो। एक महिनामै यो आन्दोलनले सत्ता, मिडिया, र नागरिक समाज तीनै तहलाई झक्झक्यायो। अब प्रश्न यो छैन — चुनाव हुन्छ कि हुँदैन। प्रश्न हो, जेनजी पुस्ता आफ्नो दबाबलाई मतपेटीमा बदल्न सक्छ कि सक्दैन ? यदि सक्छ भने, नेपालको इतिहासमा पहिलोपटक युवाको आवाजले चुनाव गराउनेछ, नेताहरूको निर्णयले होइन।
तर आन्दोलनको सबैभन्दा ठूलो कमजोरी भनेको ठोस नीतिगत दिशाको अभाव हो। मागहरू स्पष्ट भए पनि, संगठनात्मक संरचना कमजोर रह्यो। कसैलाई नेताको रूपमा नदेखिने, स्वतन्त्र समूहको रूपमा प्रस्तुत हुने रणनीतिले आन्दोलनलाई सहज र खुला बनायो, तर दीर्घकालीन दिगोपनामा चुनौती पनि थप्यो।
तर एक महिना बितिसक्दा पनि सरकार र दलहरूबाट ठोस सुधारको संकेत नदेखिएको भन्दै आन्दोलनकारीहरू अझ असन्तुष्ट छन्। उनीहरू भन्छन्, “हामी परिवर्तनको माग गर्दैछौं, सजावटको होइन।”
एक महिनापछि : के परिवर्तन आयो?
एक महिनापछि सडकमा भीड घटे पनि आन्दोलनको भावना अझ मरेको छैन। धेरैजसो जेनजी युवाहरू अब ‘डिजिटल आन्दोलन’मा रूपान्तरीत भएका छन् — आफ्ना भित्ते लेखहरू, भिडियो र डिजिटल अभियानमार्फत निरन्तर आवाज उठाइरहेका छन्।
‘युवा संवाद समूह’ गठन गरेर स्थानीय नेतृत्व र नागरिकबीच संवाद सुरु गरेका छन्। यो परिवर्तन सानो भए पनि, दीर्घकालीन सामाजिक चेतनाको आधार बन्न सक्छ।
अगाडि के?
अब आन्दोलनको दोस्रो चरण के हुनेछ भन्ने प्रश्न उठेको छ। के यो युवा शक्ति संस्थागत रूप लिँदै नयाँ राजनीतिक विकल्प बन्नेछ? वा केही समयपछि सोशल मिडियाको ट्रेन्डसँगै हराउनेछ ।
यदि जेनजी आन्दोलनले संयमित र बौद्धिक रणनीति अपनायो भने, यो नेपालको लोकतान्त्रिक यात्रामा नयाँ अध्याय लेख्न सक्छ। तर भावनात्मक आवेगमा मात्र टिके भने, यो पनि पुरानो आन्दोलनहरू जस्तै क्षणिक बन्न सक्छ। छोटो समय भए पनि यसको प्रभाव गहिरो छ। यसले युवाको आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो, सामाजिक सञ्जाललाई राजनीतिक हतियार बनायो, र सत्तालाई चेतावनी दियो कि अब नयाँ पुस्ता मौन रहने छैन।
तर परिवर्तनको यात्रा लामो र कठिन हुन्छ। अब यो आन्दोलनको भविष्य युवाको दृढता, नीति–दृष्टिकोण र एकताको क्षमतामा निर्भर छ।
एक महिना अघिको उत्साह अझै ताजा छ, तर अब समय आएको छ— भावनालाई योजनामा, विरोधलाई विकल्पमा रूपान्तरण गर्ने।

















