सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरालाई आज केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले पक्राउ गरेकाे छ ।
महरामाथि २०७९ पुस १० मा काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङद्वारा ल्याइएको दुईवटा सुटकेशमार्फत ८ करोड ५५ लाखभन्दा बढी मूल्यको सुन भित्र्याउन सहयोग गरेको र भन्सारमा दबाब दिएको आरोप लागेको हो । सुटकेशभित्र ७३० थान भेप (ख्बउभ) ल्याइएको थियो, जसमा सुन लुकाइएको थियो ।
यसअघि महराका छोरा राहुल महरा पनि यसै प्रकरणमा पक्राउ परेर कारागार चलान भइसकेका छन्। अनुसन्धानका क्रममा महराको चिनियाँ नागरिक लि हानसोङ र दाओनिज वाङसँग निरन्तर संवाद भएको कल रेकर्ड समेत फेला परेको सीआईबीले जनाएको छ । यसअघि भन्सारका नासु रेवन्त खड्का, चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, लोकेन्द्र पौडेल, नीमा गुरुङलगायत विरुद्ध मुद्दा दायर भइसकेको छ ।
पूर्वसभामुख महरामाथि यसअघि पनि अनुसन्धान सुरु भए पनि राजनीतिक दबाबका कारण अघि बढ्न नसकेको आरोप लाग्दै आएको थियो । यसपटक भने सीआईबीले बयान लिएर उनलाई औपचारिक रूपमा पक्राउ गरेको छ ।


















