नेकपा (एमाले) का नि:वर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिष्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी गरेका छन् । सोमवार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्दसत्र स्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका उनले सो टिप्पणी गरेका हुन् ।
नि:वर्तमान उपमहासचिव गुरुङले एमाले प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरुले पार्टी छोडने काम नगर्न जिकिर गरे । उनले पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिष्पर्धाको आधारमा गर्ने निर्णय गरिएको पनि स्पष्ट पारे ।
नि:वर्तमान उपमहासचिव गुरुङले भने,‘प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी हो । प्रतिष्पर्धामा विश्वास गर्ने हाम्रा नेताहरु हुुनुहुन्छ । यो फुट्नका लागि गरिएको होमवर्क होइन । यो त पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि यो गरिएको होमवर्क हो । को सक्षम नेता हो, कार्यकर्ताले मन पराएको नेता हो रु उनीहरुले विश्वास गरेको नेता को हो रु भन्ने कुराको कसी लगाउने थलो महाधिवेशन हो । हामी त्यही कसीमा उभिन्छौ । यो कसीबाट बाहिर निस्कदाखेरी जो विजयी भएर आउँछ, उसले पार्टीलाई सुदृढ ढंगले चलाउने गरेर उनीहरुले जितेका हुन्छन् ।
बाँकि जो पराजित हुन्छन, पराजित भएकाले पार्टी छोड्नुपर्छ भन्ने हामी मानसिकता राख्दैनौ । त्यसकारण उनीहरुको पनि भावना र विचारको सम्मान गर्दै हामी आफै भित्रको सत्तापक्ष र प्रतिपक्षको भावना नराखि सबै मिलेर अघि बढ्छौँ ।’ नि:वर्तमान उपमहासचिव गुरुङले निर्वाचनमा पराजित हुनेहरुलाई समेटेर उनीहरुको भावनाको कदर गर्दै पार्टी अघि बढ्ने समेत बताए ।




















