डब्लुडब्लुजेद्वारा महिला पत्रकारलाई संसदीय खोज पत्रकारिता तालिम

काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले २५ जना महिला पत्रकारलाई सहभागी गराई संसदीय खोज पत्रकारिता तालिम सम्पन्न गरेको छ । डब्लुडब्लुजेले राजधानीमा कार्यक्रम आयोजना गरी ‘पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ’ शीर्षकमा तालिम सम्पन्न गरेको हो ।

यूएनडीपीको पीएसपी परियोजनाको सहयोगमा सम्पन्न तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकार सहभागी थिए । तालिममा संसदको संरचना, कार्यप्रणाली, संसदीय रिपोर्टिङ, लैंगिक मुद्दा, संसद सचिवालयको भूमिका तथा खोज पत्रकारिताको नैतिकता र अभ्यास लगायतमा विज्ञ प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए ।

तालिमको पहिलो दिन त्रिभुवन विश्वविद्यालयका लेक्चर डा.जगत नेपालले संसदको संरचना, कार्य र प्रक्रियाहरुका बारेमा प्रशिक्षण दिएका थिए भने प्रशिक्षक अन्नपूर्ण पोस्ट्का समाचार सम्पादक नरेन्द्र साउदले संसदीय रिपोर्टिङ र यसका अभ्यासहरु विषयमा जानकारी गराएका थिए ।

तालिमको दोस्रो दिन पूर्व सञ्चार ताथ सूचना प्रविधि मन्त्री रेखा शर्माले संसदीय खोज पत्रकारितामा महिला सहभागिताको उत्सुकता देखेर खुशी लागेको व्यक्त गर्दै कार्यक्रममा संसदमा लैंगिक मुद्दा र सञ्चार सम्बन्ध विषयक आफ्नो अनुभव सुनाइएकी थिइन । सोही दिन संघीय संसदअन्तर्गतको राष्ट्रियसभाका पूर्व सचिव राजेन्द्र फुँयालले संसद सचिवालय र यसका मुख्य जिम्मेवारीका विषयमा जानकारी गराएका थिए ।

तालिमको तेस्रो दिन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार शिव गाउँलेले खोज पत्रकारिताको नैतिक मापदण्डका विषयमा प्रशिक्षण दिएका थिए भने खोज पत्रकारिता केन्द्रकी पूर्व अध्यक्ष नम्रता शर्माले संसदीय रिपोर्टिङमा खोज पत्रकारिता विषयमा प्रस्तुति दिएकी थिइन ।

तालिम समापन कार्यक्रममा यूएनडीपी पीएसपी परियोजनाका नेसनल प्रोजेक्ट म्यानेजर दिला दत्त पन्तले पत्रकार महिलालाई संसद रिपोर्टिङमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे । डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले संसदीय खोज पत्रकारिताले लोकतन्त्र मजबुत बनाउने संसदभित्रका प्रक्रिया र निर्णयलाई जनतासामु ल्याउन तालिम अति आवश्यक भएकोले यसमा डब्लुडब्लुजेले भूमिका निर्वाह गरेको बताइन् ।

साथै, तालिममा सहभागी महिला पत्रकारहरुले तालिमले खोजमूलक रिपोटिङ्गमा सुनमा सुगन्ध धपिएको आभास भएको बताएका थिए ।