भेनेजुएलाको अन्तरिम सरकारले राजनीतिक बन्दीहरूलाई रिहा गर्न सुरु गरेको छ । गत शनिबार अमेरिकी सुरक्षा बलले राष्ट्रपति निकोलस मादुरोलाई राजधानी काराकासबाट नाटकीय रूपमा पक्राउ गरी लागूऔषध तस्करीको मुद्दा चलाउन न्युयोर्क पुर्याएको थियो । मादुरो पक्राउपछि बनेको अन्तरिम सरकारले राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्वका लागि ठूलो संख्यामा बन्दीहरूलाई तत्काल रिहा गरिने घोषणा गरेको हो ।
जसअनुसार पहिलो चरणमा रिहा हुनेहरूमा मानवअधिकारवादी कार्यकर्ता रोसियो सान मिगुएल र पाँच जना स्पेनी नागरिकहरू समेत रहेका छन् । मादुरो शासनका कट्टर आलोचक मानिने मिगुएललाई सन् २०२४ को फेब्रुअरीमा राजद्रोह र षड्यन्त्रको आरोपमा पक्राउ गरिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काराकासस्थित कुख्यात (एल हेलिक्वाइड)जेल बन्द गरिने घोषणा गरेका छन् । राजनीतिक विरोधीहरूलाई थुन्ने र करेन्ट लगाउने जस्ता अमानवीय यातना दिने केन्द्रको रूपमा बदनाम यो जेलमा अझै ५० देखि ८० बन्दीहरू रहेको विश्वास गरिन्छ।


















