skip this वडा नं १६ बालाजु च:मती

मगर समुदायको राष्ट्रिय चाड माघे संक्रान्ति पुष ३० र माघ १ गते टुडिखेलमा, प्रधानमन्त्री कार्कीद्वारा उद्घाटन गरिने

मगरात सभ्यता र पहिचान दस्तावेजिकरणको दशक बनाऔं, गरौं मगर हुनुमा गर्व । प्रकृति–कुलपितृ–चेली पूजाको मूल सांस्कृतिक चाडको रुपमा मनाऔं माघे सकराती पर्व भन्ने मूल नारा सहित नेपाल मगर संघले माघे सकराती पर्व मनाउन लागेको पत्रकार सम्मेलनद्वारा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव टेक लाम्जालीमगरले सधैं झैं यस पटक पनि माघे सकराती पर्व काठमाडौंको टुडिखेलमा मनाउन लागेको जानकारी दिनुभयो ।

उहाँले मगर समुदायको प्रमुख चाड माघे सकराती भएको बताउँदै विशेषगरी यस दिन पितृ, प्रकृति र चेली पुजा गरेर मनाईने पर्वको रुपमा मगर जातीले वर्षौ देखि मनाउँदै आएको बताउनु भयो । महासचिव लाम्जाली मगरले पत्रकार सम्मेलनमा बोल्दै टुडिखेलमा माघे सकराती २ दिनसम्म विविध कार्यक्रम गरी भब्य रुपमा मनाईने जानकारी समेत दिनुभयो । मगरहरुको प्रमुख चाड माघे सकराती पर्वको तयारीको बारेमा बताउँदै उहाँले पुष ३० गते मौलिक मगर सांस्कृतिक प्रस्तुतीकरण कार्यक्रम विहान १० बजेबाट सुरु हुने जानकारी दिनु भयो ।

त्यसैगरी माघ १ गते विहान १० बजे भृकुटी मण्डपबाट मौलिक झाँकी सहितको रयाली शुरु भई टुडिखेलमा पुग्ने जानकारी दिनु भयो । प्रमुख चाड माघे सकरातीलाई भब्य एवंम सभ्य रुपमा मनाउनकोलागि विभिन्न समिति तथा उपसमिति बनाउनु भएको पत्रकार सम्मेलन मार्फत महासचिव नाम्जालीमगरले जानकारी दिनुभयो। उहाँले पत्रकार सम्मेलनमा बोल्दै माघे सकराती राष्ट्रिय चाडको शुभकामना आदानप्रदान तथा मगर मौलिक संस्कृति प्रदर्शन कार्यक्रमको समुद्धघाटन नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री सुशिला कार्कीले गर्नु हुने पत्रकार सम्मेलन मार्फत पत्रकारहरुलाई जानकारी दिनु भयो।

उक्त कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनी, धनुषबाँण हान्ने, छेलो खेल्ने तथा एक आपसमा शुभकाना आदान–प्रदान आदि हुनेछ । मगर समुदायको प्रमुख सांस्कृतिक पर्व मगर माघे सकराती २०८२ लाई हरेक मगर घर आगन, टोल, गाउँबस्ती, जिल्ला, प्रदेश, प्रवास सबै तह र तप्कामा प्रमुख पर्वको रुपमा मनाउन सबै समुदायलाई नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले हार्दिक अपिल गर्नु भयो।

लिसरा रिसेप्सन, नक्साल काठमाडौंमा भएको उक्त पत्रकार सम्मेलन लगत्तै सोही दिन नेपाल मगर संघ केन्द्रीय समितिद्वारा मगर समुदायको प्रमुख सांस्कृतिक चाड माघे सकराती पर्व–२०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम समेत राखिएको थियो। शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर, सहअध्यक्षद्वय गंगा थापामगर, गंगा खासुमगर, उपाध्यक्ष रक्षा रैकामगर, सल्लाहकारहरु गौं बहादुर आलेमगर, कृष्ण थापामगर, दिलबहादुर थापामगर पदाधिकारीहरु तथा सदस्यहरु, मगर संघका भातृसंस्थाका पदाधिकारीहरु तथा आदिबासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ लागयतले माघे सकराती चाडको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो साथै मौलिक सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा मगर समुदायको मौलिक खानपान तथा मौलिक सांस्कृतिक नाचगान समेत प्रदर्शन तथा प्रस्तुतीकरण गरिएको थियो।टुडिखेलमा हुने कार्यक्रममा मगर मौलिक सांस्कृतिक प्रस्तुतिहरु मगर कौराहा, मगर फाङ्क नाँच, मगर भुमे, मगर धाँसी संस्कृति, मगर स्याम्बो, मगर डिग्रे, मगर हुर्रा, मगर थाली नाँच, मगर सिमला बारुला, मगर यानीमाया, मगर सालैज्यो जस्ता प्रस्तुतिहरु साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको आकर्षक सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिने भएको छ।

२०६५ सालमा नेपाल सरकारबाट माघे सकराती चाडलाई मगर समुदाय साथै थारुहरुको समेत प्रमुख राष्ट्रिय चाडको रुपमा घोषणा गरिसकेको छ।