राष्ट्रिय सभाको बैठक अहिले जारी छ। बैठकमा केही सांसदहरूले नेपाली राष्ट्रिय झन्डाको दुरुपयोग भइरहेको भन्दै दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झन्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरिन्। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको व्यापक दुरुपयोग भइरहेको बताइन्।
उनका अनुसार चुनावी अभियानमा प्रयोग गरिएका झन्डाको उचित व्यवस्थापन, संरक्षण र स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन। घाँटीमा मालाझैँ लगाइएका झन्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहारसम्भार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले उल्लेख गरिन्।
नेपाली राष्ट्रिय झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गरिन्। उनले भनिन्, “नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन। यसलाई पूर्ण रूपमा रोक्नुपर्छ। यहाँ कारबाहीको कुरा पनि गरिएको छ, तर घाँटीमा माला लगाइएका झन्डा अहिले कहाँ छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्ने खोजबिन गर्नसकिने अवस्था छैन। त्यसैले झन्डाको दुरुपयोग रोक्न सरकारले कडा कदम चाल्नुपर्छ।”
उनले राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइन्।


















