काठमाडौं । काठमाडौं महानगरपालिकासितकाे सहर्कायमा सर्वनाम थिएटरमा चर्चित कुमारी नाटक ‘अग्निचक्षु’ अहिले मञ्चन जारी रहेकाे छ । माघ ११ गतेदेखि माघ २५ सम्म मञ्च हुने यस नाटक साँझ ५ः १५ बजे (शनिबार दिउँसाे १ बजे पनि) बिहिबार बिदा गरेर मञ्चन भइरहेकाे छ । नाटकमा वरिष्ठ कलाकार कृष्णभक्त महर्जनको नाट्य प्रस्तुति संयोजनमा तयार भएको छ । जसमा कुमारी परम्परा, नारी चेतना, प्रेम, सामाजिक पाखण्ड र आध्यात्मिक द्वन्द्वलाई गहिराइमा केलाउँदै निर्माण गरिएको हाे ।
एक बर्ष अगाडि भव्य रूपमा मञ्चन गर्न सफल यस ‘अग्निचक्षु’ नाटकले दर्शक र समीक्षक दुवैबाट उल्लेखनीय प्रशंसा बटुलेकाे थियाे । यस नाटकमा देवी, नारी र समाजबीचको द्वन्द्व प्रस्तुत गर्न सफल भएकाे छ । जसमा जीवित देवी कुमारीको कथामा आधारित ‘अग्निचक्षु’ले देवीबाट सामान्य मान्छे बन्दै जाँदाको पीडादायी यात्रालाई नाटकको केन्द्रमा राखेको छ। पूर्व कुमारी पात्रमार्फत नाटकले समाजको दोहोरो चरित्र, प्रेमभित्र लुकेको स्वार्थ, नारीमाथि थोपरिने नैतिक दबाब र आत्मिक शान्तिको खोजलाई सशक्त ढंगबाट प्रस्तुत गरिएकाे छ।
यस नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना बज्राचार्य, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धिरज थापा मगर, मनिस मानव, राजेन्द्र डंगोल लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसका अलावा नाटकमा सङ्गीत संयोजन विमल लामिछानेले गरेका छन्। गायनमा विमल लामिछाने र अनु अधिकारी रहेका छन् भने वाद्यवादनमा इन्द्रमान महर्जन, मिन घलान र गणेश रानाले योगदान दिएका छन् ।
नाट्य प्रस्तुति संयोजन कृष्णभक्त महर्जनले गरेका छन् साथै नाटककार तथा परियोजना प्रमुख चन्द्रप्रसाद पाण्डेयले गरेका छन् । नाटकको आयोजन नागरिक कल्याण समाज नेपालले गरेको हो। सहआयोजकका रूपमा ह्युमत महिला समूह र तजिलजी गुथि नेपाः रहेका छन् ।




















