संसारको इतिहासमा दीर्घकालसम्म आफ्नो छाप छाड्ने धेरै व्यक्तित्व हालसम्म पनि सम्मानित हुँदै आएका छन् । वैज्ञानिक, अन्वेषक, विद्वान्, साहित्यकार, दार्शनिक, कलाकारहरू त सम्बन्धित मुलुकमा मात्र होइन, विश्वभर नै उज्ज्वल नक्षत्रका रूपमा प्रतिस्थापित भएका छन् । तर, यसै श्रेणीमा शासकहरू समावेश भएका दृष्टान्त कमै पाइन्छन् । विश्वमा आफ्नो समयमा अनुकरणीय र उल्लेख्य कार्य गर्ने शासकहरू धेरै देखिन्छन्, तर तिनै शासकहरूका कमजोरी र स्वार्थप्रेरित कार्यबाट उनीहरूको योगदान, गरिमा र छवि ओझेल परेको देखिन्छ । तत्काल वरिपरिका चाटुकार, भाट तथा स्वार्थीहरूले देवत्वकरण गरे तापनि कालान्तरमा समयले उनीहरूको वस्तुनिष्ठ मूल्याङ्कन गर्ने गरेको छ । इतिहासले यसै भन्ने गरेको छ— शासकहरूको मूल्याङ्कन त वर्तमानले होइन, भविष्यले गर्छ ।
सम्राट अशोक (ई.पू. ३०४-२३२) ले बुद्ध धर्मको प्रचार र प्रसारमा सार्थक भूमिका निर्वाह गरेस उनकै कारणबाट बुद्ध धर्मले प्रसिद्धि पायो । उनले जनताका लागि स्वास्थ्य, यातायात जस्ता जनहितका धेरै कार्य पनि गरे र धार्मिक सहिष्णुताको नीति अवलम्बन गरी महानता देखाए । तर, पहिले लिएका विस्तारवादी, साम्राज्यवादी नीतिका कारण कलिङ्ग जस्ता युद्धबाट भएको धनजनको क्षतिबाट उनका कार्य अपेक्षित रूपमा सुपाच्य भएनन् । यसैगरी मुगल सम्राट अकबर (१५४२-१६०५) ले जिज्या कर खारेज र धार्मिक सहिष्णुता देखाई कला–कौशलमा समेत उन्नति गरी आफ्नो अमिट छाप छाडे तापनि पराजित शासकप्रतिको कठोर व्यवहार र उनका सैनिकहरूको अत्याचारका कारण उनको चरित्रमा दाग लाग्यो । युरोपलाई नै दुई दशकसम्म आफ्नै हातमा नचाउने फ्रान्सका शासक नेपोलियन बोनापार्ट (१७६९-१८२१) ले फ्रान्सको समृद्धिमा उल्लेख्य योगदान गरे । नेपोलियन कोड र लुभ्र सङ्ग्रहालयले उनलाई सदा स्मरण गराइरहेको हुन्छ । तर, उनको सैनिक अभियानको क्रममा भएको धनजनको क्षति र विभिन्न मुलुकले खेप्नुपरेको सास्तीका कारण आजसम्म युरोपियनहरूले उनलाई घृणा नै गर्दछन् । रूसमा पिटर महान् (१६७२-१७२५) ले सैन्य व्यवस्थालाई सुदृढ बनाए, शिक्षा र प्रविधिमा सुधार ल्याए र नयाँ राजधानी बनाएस तर विरोधीको निर्ममतापूर्वक दमन गर्ने र झारा प्रथामा कडाइ गर्ने जस्ता कार्यबाट उनी आलोचित भए ।
यसैगरी विश्वमा नै कतिपय रचनात्मक एवं मुलुकको हितको लागि उल्लेख्य कार्य गरेका शासकहरूमा उनीहरूका केही कमजोरी र स्वार्थका कारण उनीहरूको योगदानलाई ओझेल पारेको पाइन्छ । यसै पृष्ठभूमिमा नेपालका शासकहरूको चर्चा गरौँ, जसका केही कमजोरीका कारण उनीहरूका अतुलनीय योगदानमा प्रश्नचिह्न लागेका छन् ।
नेपालमा केही हदसम्म प्रामाणिक इतिहास लिच्छविकालको उत्तरार्धदेखिको पाइन्छ । उक्त कालमा वंशावली, शिलालेख जस्ता स्रोतहरूमा ती शासकहरूको गुणानुवर्णन मात्र अधिक पाइन्छ र कतिपय तथ्यहरू गुमनाम नै रहेका छन् । मानदेव (४६४-५०५) लाई प्रथम ऐतिहासिक शासक मानिन्छ । उनको विजय अभियानबाट एक सशक्त राज्य हुन पुगेको भन्ने पनि गरिन्छ । तर, मानदेवलाई अझै पिता धर्मदेवको हत्याको दोष लाग्न गएको छ, हुन त अज्ञानवश नै उक्त हत्या भएको थियो ।
मध्यकालमा जयस्थिति मल्ल (१३८२-१३९५) लाई समाज सुधारक शासकका रूपमा गणना गरिन्छ । उनले समाजमा पेसाअनुसार विभिन्न वर्गलाई छुट्याई सामाजिक रूपान्तरण गरी नेवार संस्कृतिलाई अब्बल बनाउन सार्थक कार्य गरे । तर, उनको यही कार्यले कालान्तरमा समाजमा वर्ग विभाजन भई उच्च र नीच जातको सिर्जना भई द्वन्द्वको गहिरो खाडल बन्न पुग्यो । कान्तिपुरका राजा प्रताप मल्ल (१६४१-१६७४) ले भोटसँग सन्धि गरी मुलुककै अर्थतन्त्रलाई सबल बनाए र हनुमानढोका दरबार, रानीपोखरी जस्ता अनेकौँ कला–कौशलले पूर्ण गराए । तर, तिनै प्रताप मल्लले एक किशोरीसँग जबरजस्ती गरी मारिएको र भीम मल्ललाई बिनाकारण मृत्युदण्ड दिई षड्यन्त्रकारी राजनीतिको सुरुवात गरेका जस्ता अनेकौँ बात लागि उनको योगदानमा कालो बादल लाग्न पुग्यो ।
पृथ्वीनारायण शाह (१७२३-१७७५)नेपालका शासकहरूमध्ये सबैभन्दा चर्चित र सम्मानित हुन्स उनकै नीति र कार्यले गर्दा कालान्तरमा नव नेपाल राज्य निर्माण हुन पुग्यो । त्यसबेला हालको भूभाग ५५ भन्दा बढी टाकुरे राज्यमा विभक्त थियो । ती सबैलाई एकताबद्ध बनाउने कार्यको थालनी उनैले गरे । उनले सुरुवात गरेको कार्यलाई उनका उत्तराधिकारीहरूले निरन्तरता दिँदा नेपाल सबल राज्यका रूपमा परिणत भयो ।
देशलाई विभक्त गर्न नहुने, योग्यलाई कदर गर्नुपर्ने, घुस दिन लिन नहुने, ऐश–आराममा भुल्न नहुने जस्ता उनका अनेकौँ कार्य र नीतिको चर्चा–परिचर्चामा असंख्य कृति प्रकाशन भएका छन् र भविष्यमा पनि हुँदै जानेछन्— यो पक्का कुरा हो । तर, लोकले उनको यत्रो ठूलो योगदानको बयान, सराहना, प्रशंसा मात्र गरेन, उनका केही कमजोरीहरूको पनि पर्दाफास गर्यो । जयन्त राणालाई जिउँदै छाला काढ्ने, कीर्तिपुरेहरूको नाक–कान काट्ने, भक्तपुरका जनतालाई क्रुर दण्ड दिने, पराजित राजा तेज प्रकाश मल्लप्रतिको व्यवहार र गोरखालीलाई मात्र सर्वाधिक प्राथमिकता दिनैपर्ने उनको मान्यता जस्ता केही कमी–कमजोरीका कारण उनको सुनाममा प्रश्नचिह्न लगाउनेहरू पनि छन् ।
पृथ्वीनारायण शाहले उठान गरेको विजय अभियान (जुन कालान्तरमा एकीकरण अभियान हुन पुग्यो) लाई नायब बहादुर शाह (१७५७-१७९४) ले विस्तृत बनाए । महाकाली पारिसम्म विस्तार गर्ने र आश्रित राज्यउपर लिएको नीति समय सान्दर्भिक थियो, जसको कारणले पनि विजित प्रदेशमा गोरखाली शासनले स्थायित्व पायो । गोरखाली शासनलाई विस्तार र सुदृढ गरी नव नेपाल निर्माण गर्न उनको योगदान सर्वाधिक महत्त्वपूर्ण छ । तर, राजपाठमा आफ्नो हैकम जमाउन सर्वजित रानालाई राजेन्द्रलक्ष्मीसँग अनुचित सम्बन्ध राखेको आरोपमा दरबारमै हत्या गर्ने र अति महत्त्वाकाङ्क्षी भई चीनसँग युद्ध गरेको र इस्ट इन्डिया कम्पनीसँग १७९२ मा गरेको सन्धिको कारण उनको योगदान ओझेलमा परेको छ । चीन र कम्पनी सरकारसँग गरिएका उनका कार्य नेपालको हितका लागि हुँदै भएनन् ।
नेपालको इतिहासमा भीमसेन थापा (१७७५-१८३९) आफ्नो पृथक् पहिचान कायम राख्न सफल भएका छन् । नेपालको सर्वशक्तिमान प्रधानमन्त्रीमा उनको गणना हुन्छ । गोरखाली भारदारमा सर्वशक्तिमान हुने पनि उनी नै पहिलो भए । पृथ्वीनारायण शाहको मृत्युपश्चात् नेपालको अस्थिर र षड्यन्त्रकारी राजनीतिलाई तीन दशकसम्म अन्त्य गर्न सफल भए । नेपालको प्रशासन, सामाजिक सुधार, नेपालको सेनालाई आधुनिकीकरण गर्ने, राष्ट्रिय स्वाभिमान कायम राख्न प्रयत्नशील रहने, मुलुकका विभिन्न स्थानमा गढी–किल्ला निर्माण गर्ने, बाटोघाटो, पुल–पुलेसा निर्माण गर्ने र सुनधारा तथा धरहरा निर्माण गर्ने जस्ता कार्य सम्पादन गर्ने श्रेय उनै मुख्तियार भीमसेन थापालाई जान्छ । उनको खातामा उल्लेख्य प्रशंसनीय कार्यको सूची मात्र छैन, विभिन्न बेथिति सिर्जना गरेको फेहरिस्त पनि पाइन्छ ।
रणबहादुर शाहलाई प्रसन्न तुल्याई आफ्ना विरोधीलाई सोत्तर बनाएको, स्वामी महाराजकै हत्यापश्चात् सम्भावित विरोधी भारदारलाई सिध्याएको, राजराजेश्वरी जस्ता रानीलाई सती जान बाध्य गराएको, अङ्ग्रेजसँग युद्ध गरी एक तिहाइ भूभाग गुमाएको, कम्पनी सरकारसँग मुलुक तल पार्ने गरी सन्धि गरेको र षड्यन्त्रकारी राजनीतिलाई नयाँ ढङ्गले बढावा दिएको जस्ता आरोप पनि उनीमाथि लागेका छन् । यी कतिपय आरोप कपोलकल्पित भने थिएनन्स थापाको यही अति महत्त्वाकाङ्क्षाले उनको अन्त्य पनि गरायो । प्रभावशाली भारदारलाई सिध्याई आफू नै सर्वेसर्वा हुने उनको कार्यले कालान्तरमा जङ्गबहादुरको उदय पनि गरायो ।
जङ्गबहादुर राणा (१८१७-१८७७) नेपालको इतिहासमा धेरै स्थान पाएका व्यक्ति हुन् । उनको कार्य र जीवनी विषयमा स्वदेशी र विदेशी विद्वान्हरूले जति चासो राखेका छन्, त्यति कसैप्रति पनि हालसम्म भएको छैन । पृथ्वीनारायण शाहको अवसानपछि नेपालमा देखिएको अस्थिर एवं षड्यन्त्रकारी राजनीतिको अन्त्य गरी स्थिर प्रशासन कायम गराउने श्रेय जङ्गबहादुरलाई नै जान्छ । सुगौलीको सन्धिमा गुमेको तराईको भूभाग फिर्ता ल्याउने, सन् १८५६ को सन्धि गरी भोटमा नेपालको प्रभाव विस्तार गर्ने, पहिलोपटक मुलुकी ऐन जारी गर्ने र अङ्ग्रेज तथा चीन दुवैसँग राष्ट्रिय स्वाभिमान कायम गरी सम्बन्ध स्थापना गर्न बेलायतको भ्रमण गरी विविध रचनात्मक कार्यको थालनी गर्नु जस्ता अनेकौँ राष्ट्रिय हितका कार्य सम्पादन गरेका थिए ।
नेपाललाई आधुनिक युगमा प्रवेश गराउने श्रेय पनि उनैलाई जान्छ । यति धेरै राम्रा कार्य हुँदाहुँदै पनि जङ्गबहादुरले त्यति सम्मान पाउन सकेनन्, जसको मूल कारण हो— सबै भारदारलाई खतम पारी राजा–रानीलाई कमजोर बनाई एकतन्त्रीय जहाँनिया राणा शासन कायम गराउनु । यसैकारण उनको चरित्रमा दाग लागेको हो ।
श्री ३ महाराज चन्द्रशमशेर (१८६३-१९२९) को राज्यकालमा पहिलोपटक धेरै चिजहरू भएस रोपवे, रेलवे, सुरुङमार्ग, बिजुली जस्ता विकास निर्माणका कार्य नेपालीले देखे । दास प्रथा, सती प्रथा जस्ता कुप्रथा उन्मूलन भए र त्रिचन्द्र कलेजको स्थापना भयो । पहिलोपटक विदेशी राष्ट्रप्रमुख बेलायती नरेश पञ्चम जर्ज नेपाल आए र सन् १९२३ को ग्रेट ब्रिटेनसँग सन्धि भई नेपालको कद उच्च भयो । उनको २८ वर्षको राज्यकालमा नेपालले धेरै चिज पायो । यति हुँदाहुँदै पनि चन्द्रशमशेरका केही नकारात्मक कार्यले गर्दा उनको पनि इतिहासमा पूर्ण सम्मानित नाम हुन सकेन । जनभावनाको उपेक्षा गर्नु, सबै सुविधा आफ्नै वर्गमा सीमित राख्नु, राणाहरूमा ए, बी र सी जस्ता वर्गको विभाजन गर्नु, चीन–भोटको परम्परागत सम्बन्धमा दखल पर्ने गरी र नेपालको व्यापारमा नोक्सान हुने गरी सन् १९०४ को ल्हासा सम्झौता गराउन अङ्ग्रेजलाई सहयोग गर्नु र गोर्खा भर्तीमा उदार नीति लिनु जस्ता मुलुकलाई नै दीर्घकालीन असर पार्ने कार्य गरेकै कारण चन्द्रशमशेरका राम्रा कामहरू ओझेलमा परे ।
नेपालका शाहवंशीय राजाहरूमा पृथ्वीनारायण शाहपछि महेन्द्र (१९२०-१९७२) को नाम श्रद्धापूर्वक लिनै पर्दछ । २००७ सालको आन्दोलनपश्चात् नेपालको राजनीतिको सङ्क्रमणकाल अन्त्य गरी बढ्दो भारतीय प्रभाव रोक्ने, नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने, नेपाली मुद्राको मात्र प्रचलन गराउने, पूर्व–पश्चिम राजमार्गको परिकल्पनाकार, ुएक राजा, एक देश, एक भाषा, एक भेषु को अवधारणालाई मूर्तरुप दिन सफल, शिक्षा, स्वास्थ्य, सञ्चारको विकास र विस्तारमा सार्थक पहल गरी संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रवेश गराई विभिन्न मुलुकसँग दौत्य सम्बन्ध कायम गराएको कार्य पनि उनै राजाका पालामा भएका हुन् । हाल आएर उनको वस्तुनिष्ठ मूल्याङ्कन हुँदै गएको छ । हिजो कि देवत्वकरण गरियो कि दानवीकरण गरियोस यति धेरै राम्रा कार्य गरेका राजा महेन्द्रलाई २०१७ साल पुस १ गतेको काण्डले उनको प्रतिष्ठा र योगदानमा आँच पुर्यायो ।
नेपालले अनुभव गरेका २००७ साल, २०४६ साल र २०६२/६३ सालका तिनै आन्दोलन यथार्थमा नेपालका युगान्तकारी घटना थिए । यी तिनै आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरी नेतृत्व गर्ने एउटै मात्र व्यक्ति हुन्— गिरिजाप्रसाद कोइराला (१९२४-२०१०) । २००७ सालमा नेपाली कांग्रेसले आह्वान गरेको आन्दोलनलाई उपलब्धिमूलक बनाउने बीपी कोइरालाका भाइ गिरिजाप्रसाद कोइराला उक्त आन्दोलनमा अग्रपङ्क्तिमा थिए । बीपीप्रति उनको आस्था, समर्थन, त्याग र प्रतिबद्धताले उनलाई पौराणिक कथाका रामका भाइ लक्ष्मण बनाएको छ । २०४६ को आन्दोलनको नेतृत्व तहमै रहेर सफल बनाउन उनको योगदान स्तुत्य रहेको छ । उनी २०४७ देखि मृत्युपर्यन्त नेपालको राजनीतिको केन्द्रबिन्दुमा नै रहे । २०६२/६३ को आन्दोलनको नेतृत्व गरेका यिनै कोइरालाले माओवादीहरूलाई हतियार बिसाउन लगाई जङ्गलबाट मङ्गलमा पुर्याए । ज्ञानेन्द्रकै कारण नेपालबाट राजतन्त्र समाप्त गर्ने कार्यमा पनि उनको विमति रहेन । नेपाली कांग्रेस लामो समयसम्म उनकै सेरोफेरोमा घुम्यो र गिरिजा भन्नु नै नेपाली कांग्रेस र नेपाली कांग्रेस भन्नु नै गिरिजा होु भन्ने भाष्य पनि बन्न पुग्यो ।
तर, यस्ता युगपुरुष धर्तीपुत्रलाई पनि इतिहासमा सुनौलो अक्षरले स्थापित हुन दिइएन । २०४७ सालमा सबल र सक्षम देखिएको नेपाली कांग्रेसले प्रतिनिधिसभामा बहुमत ल्याई उनकै नेतृत्वमा सरकार पनि बनायो । नेपाली कांग्रेसको बहुमत हुँदाहुँदै आफ्नै साथीहरूको रिसले संसद विघटन गराई मध्यावधि निर्वाचन गराई कांग्रेसलाई रसातलमा पुर्याउने कार्यको अगुवा स्वयं गिरिजाप्रसाद नै भए । नेपाली कांग्रेसको विभाजनलाई रोक्न नसक्नु उनको अर्को कमजोरी देखियो । माओवादीप्रति अनावश्यक सदाशयता र ज्ञानेन्द्रप्रतिको आक्रोश पनि धेरैलाई चित्त बुझेन । सन्त नेता कृष्णप्रसाद र लौह पुरुष गणेशमानप्रति उनको उपेक्षाभावले पनि कतिपय कांग्रेसीहरूको मन रोएको थियो । नेपालमा भ्रष्टाचार मौलाउनुमा समेत उनले मलजल गरेको धेरै आरोपहरू लागे ।
२०४७ सालपश्चात् नेपालमा त्यस्तो उल्लेख्य मुलुकको शिर उचो बनाउने कमै मात्र नेता देखा परे । अझ पर्दै परेनन् भन्दा पनि हुने नै भयो । व्यक्तिगत र पार्टीको स्वार्थ, सत्ता प्राप्त गर्ने अनेकौँ अनपेक्षित कार्यहरू भए । माओवादी आन्दोलनलाई उचाइमा पुर्याउन तिनै पार्टीका मठाधीशहरूको प्रत्यक्ष वा परोक्ष भूमिका रह्यो । विभिन्न पार्टीबाट बनेका सरकारले मुलुकका समस्यालाई सम्बोधन गर्न नसकेकै कारण कागतालीले राजा बनेका ज्ञानेन्द्रको महत्त्वाकाङ्क्षा जाग्यो । यही महत्त्वाकाङ्क्षाकै कारण पनि राजतन्त्र नेपालबाट बिदा भयो । २०६२/६३ को आन्दोलनबाट सत्ताको रसास्वादन गर्न पुगेका माओवादीहरूले पनि ुजुनै जोगी आए पनि कानै चिरेकाु भन्ने उखान चरितार्थ बनाए । नेपालले कुनै युद्ध आन्दोलनमा नभएको जनधनको क्षति गराउने ती माओवादीबाट पनि मुलुकले निराशा नै प्राप्त गर्यो । जेन्जी (Gen-Z) आन्दोलनबाट पनि खासै मुलुकले अपेक्षित निकासा पाउने सङ्केत देखिएको छैन । भोलिका दिनहरू अझ भयावह हुने सम्भावना बढ्दो छ । राम्रा–नराम्रा कामहरूको लेखाजोखा भविष्यले गर्दछ । वर्तमानमा रमाउने कतिपय शासक इतिहासमा कहिल्यै अटाउन सकेनन् । इतिहासमा रमाउनु भनेको स्वर्ग पुग्नु हो भन्ने हेक्का राख्नु जरुरी छ ।


















