कर्णालीको वास्तविक गहिराइ बुझ्ने पार्टी रास्वपा हो : बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीलाई ‘शिवभूमि’को संज्ञा दिँदै सुर्खेतमा पार्टीको चुनावी वाचापत्र सार्वजनिक गरेका छन्।

शिवको पाउमा उभिएर प्रतिबद्धता जनाउन पाएकोमा खुसी व्यक्त गर्दै उनले कर्णालीको सम्भावना उजागर गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । रारा ताललाई स्मरण गर्दै उनले कर्णालीको प्राकृतिक र सांस्कृतिक महत्व उल्लेख गरेका छन्। डोल्पाको यार्सागुम्बा विश्व बजारसम्म पुग्ने तर जुम्लाको स्याउ र मार्सी चामल देशभर वितरण हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना अघि सारे।

सिञ्जा सभ्यता, नेपाली तथा खस भाषाको उद्गमस्थलको संरक्षणमा जोड दिँदै उनले कर्णालीको दु:ख र गरिबीलाई राजनीतिक एजेन्डा बनाउने होइन, समाधान गर्ने पार्टी रास्वपा बन्ने दाबी गरेका छन् ।