शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित भएका छन्भने प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत छन् । त्रिशक्ति उपभोक्ता समितिले पनि उनीहरुलाई सचेत रहन आग्रह गरेको छ ।
बाघ बस्तीमा आउन थालेपछि निकुञ्ज वरपरका स्थानीयलाई राति हिँडडुल नगर्न, हिँड्नै परेमा समूहमा पर्याप्त उज्यालो टर्च लाइट लिएर मात्र निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यानहरू सफा राख्न अनुरोध गरिएको छ ।
निकुञ्जको सीमा क्षेत्रमा पर्ने खेतबारीमा काम गर्न जाँदा, दाउरा–घाँस काट्न वा पशुचौपाया चराउन जाँदा एक्लै नजान र समूहमा रहेर मात्र काम गर्न, कतै बाघ देखिएमा वा बाघले चौपाया मारेको थाहा पाएमा निकुञ्ज प्रशासन, नेपाली सेना, नगरपालिका वा वडा कार्यालयमा खबर गर्न आग्रह गरिएको छ ।

















