पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे अद्यावधिक जानकारी संकलन गर्न सञ्चालन गरिएको अनलाइन प्रणालीमा ५४ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। कन्सुलर सेवा विभागका अनुसार आइतबार साँझसम्म ५४ हजार ७ सय ८६ जनाले दर्ता गरेका छन्।परराष्ट्र मन्त्रालयले दर्ता भएका विवरणहरू अध्ययन गर्दै आवश्यकता अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। इजरायल-अमेरिका र इरानबीच बढ्दो युद्ध तनावका कारण पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढेपछि मन्त्रालयले यस्तो अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो।
पश्चिम एसियाली देशहरूमा करिब १७ लाख २९ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ। उनीहरूको सुरक्षा, हित र आवश्यक परे उद्धार व्यवस्थाका लागि त्यहाँस्थित नेपाली दूतावास तथा महावाणिज्य दूतावासहरू निरन्तर सक्रिय रहेको मन्त्रालयले जनाएको छ। अधिकांश स्थानमा हवाई उडान पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित उडानहरू सञ्चालन भइरहेका छन्। संयुक्त अरब इमिरेट्सबाट फ्लाई दुबई र एयर अरेबियाका उडान जारी छन् भने साउदी अरेबिया र ओमानतर्फ पनि हवाई सेवा पुनः सञ्चालन भएको छ।
परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई संयमित र सचेत रहन, स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गर्ने सूचनाहरू पालना गर्न र कुनै समस्या परे तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।


















