इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको अमेरिको अखबार द वासिङ्टन पोस्टले जनाएको छ । यसअघि अमेरिकाले रूसबाट तेल किन्ने देशलाई उच्च भन्सार दर लगाउँदै आएको थियो । फेब्रुअरीको अन्तिमयता इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण गर्दै आएको छ । जबाफमा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडा र अन्तर्राष्ट्रिय जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’मा तेल बोकेका ट्यांकरहरूलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ ।
यसले विश्व बजारमै तेलको आपूर्ति घटेर लगातार मूल्य बढिरहेको छ । मूल्यवृद्धि नियन्त्रणका लागि समुद्रमै रहेका तेलमाथिको प्रतिबन्ध मात्रै हटाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ । प्रतिबन्ध हटाइएपछि अन्तर्राष्ट्रिय जलमार्गमा रहेका तेल ट्यांकरहरू रूसले विश्वका विभिन्न देशमा पठाउन सक्नेछ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो छुट अस्थायी मात्रै रहेको र अप्रिल ११ सम्म मात्रै लागु हुने बताएका छन् ।
यसबाट विश्व बजारमा करोडौं ब्यारेल कच्चा तेल थपिने र इरान युद्धपश्चात प्रतिब्यारेल १०० डलरसम्म पुगेको कच्चा तेलको मूल्य घटाउन सहयोग पुग्ने उनले बताएका छन् । सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले रूसी अर्थतन्त्रमा दबाब सिर्जना गरी युद्धमा कमजोर पार्नका लागि रूसी तेलमाथि प्रतिबन्ध लगाएको थियो।



















