काठमाडौंमा रूसी छोटो फिल्म महोत्सव सम्पन्न

 

काठमाडौंस्थित रूसी सांस्कृतिक केन्द्र मा आयोजित “रूसी घर छोटो फिल्म दिनहरू” अन्तर्गतको तीनदिने विशेष प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको छ। मार्च २४ देखि २६ सम्म सञ्चालन भएको उक्त कार्यक्रमले दर्शकलाई रूसी छोटो फिल्महरूको विविध संसारसँग परिचित गराएको थियो।

महोत्सवको पहिलो दिन, मार्च २४ मा “Shot in the Regions / FPRK Films” शीर्षक अन्तर्गत विभिन्न क्षेत्रीय कथामा आधारित छोटो फिल्महरूको संकलन प्रस्तुत गरिएको थियो। यस दिन ‘Visionary from Artyushkino’ लगायतका फिल्महरूले ग्रामीण जीवन, सांस्कृतिक विविधता र मानवीय संवेदनालाई उजागर गरेका थिए।

दोस्रो दिन, मार्च २५ मा “Stars of the Short Films” शीर्षकमा चर्चित तथा पुरस्कारप्राप्त छोटो फिल्महरूको प्रदर्शन गरिएको थियो। यस प्याकेजले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा पाएका रूसी फिल्महरूलाई एउटै मञ्चमा प्रस्तुत गर्दै दर्शकलाई फरक–फरक शैली र विषयवस्तुको अनुभव गराएको थियो।

त्यसैगरी, अन्तिम दिन मार्च २६ मा “Family and Children Films” शीर्षक अन्तर्गत परिवार र बालबालिकामैत्री छोटो फिल्महरू प्रदर्शन गरिएका थिए। यस दिनका फिल्महरूले मनोरञ्जनसँगै शिक्षाप्रद सन्देश पनि बोकेका थिए, जसले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्‍यो।

हरेक दिन करिब ९६ मिनेटको फरक–फरक फिल्म प्याकेज प्रस्तुत गरिएको यस महोत्सवले काठमाडौंका फिल्मप्रेमीहरूलाई अन्तर्राष्ट्रिय छोटो फिल्महरूको स्वाद दिलाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै एलेना प्लातोनोभा, रूसी सांस्कृतिक केन्द्र काठमाडौं की निर्देशकले भनिन्, “यस्ता फिल्म महोत्सवहरूले नेपाल र रूसबीचको सांस्कृतिक सम्बन्ध अझ मजबुत बनाउने विश्वास लिएका छौं। छोटो फिल्महरू मार्फत हामीले रूसी समाज, जीवनशैली र सिर्जनशीलतालाई नेपाली दर्शकमाझ पुर्‍याउने प्रयास गरेका हौं। आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने योजना छ।”

यस कार्यक्रमले नेपालमा वैकल्पिक तथा छोटो फिल्म संस्कृतिको विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।