परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्व प्रभावित क्षेत्रका नेपाली नागरिकहरूको सुरक्षा र सहजीकरणमा सरकार सक्रिय रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले परराष्ट्र मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको विवरण सङ्कलन गरिरहेको र २४ सै घण्टा सञ्चालन हुने हटलाइनमार्फत समस्यामा परेका नागरिकसँग सम्पर्कमा रहेको बताएका छन्।
खनालले नेपाल एयरलाइन्समार्फत मध्यपूर्वमा उडान सहज बनाइएको, दुबईमा नियमित उडान सुरु भइसकेको र साउदी अरब लगायत अन्य क्षेत्रमा थप उडान व्यवस्था भइरहेको जानकारी दिएका छन्। द्वन्द्वका कारण आपूर्ति प्रणाली, रोजगारी र आर्थिक क्षेत्रमा परेको प्रभाव अध्ययन गर्न सरकारले कार्यदल समेत गठन गरेको उनले बताए। उनले जानकारी दिए, ‘अहिलेसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराइसकेका छन्। पछिल्ला दिनहरूमा आपत्कालीन फोनको संख्या घट्दै गएको छ। आवश्यक परे सरकारले उद्धार र सहजीकरणका लागि विभिन्न निकायसँग समन्वय गरिरहेको छ।’


















