हनी ट्र्याप प्रकरणः प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनालाई सफाइ, एक जनामात्र दोषी ठहर
ललितपुरमा चर्चित बनेको “हनी ट्र्याप” प्रकरणमा अदालतले अधिकांश आरोपीलाई सफाइ दिएको छ। जिल्ला अदालत ललितपुरले मंगलबार फैसला सुनाउँदै प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनालाई निर्दोष ठहर गरेको हो भने एक जनालाई दोषी सावित गरेको छ। न्यायाधीश ढाकाराम पौडेलको इजलासले तजम्मुल इसलामलाई आपराधिक लाभ लिएको कसुरमा दोषी ठहर गर्दै उनलाई १ वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाएको छ। यस प्रकरणमा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते प्रहरी निरीक्षक शाही, सुस्मा विश्वकर्मा, तजम्मुल इसलाम, भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेलविरुद्ध मुद्दा दायर गरेको थियो। पछि शाही र पोखरेल अदालतमा उपस्थित भएका थिए।
अभियोगअनुसार, उनीहरूले संखुवासभाका इन्द्रकुमार राईबाट ३० लाख रुपैयाँ असुल गरेको र जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिँदै सुरुमा ६० लाख रुपैयाँ मागेको आरोप थियो। साथै, पीडितलाई प्रहरी प्रभाग बुंगमतीमा लगेर रकम माग गरिएको पनि अभियोगमा उल्लेख थियो। तर अदालतले प्रमाणका आधारमा प्रहरी निरीक्षक शाहीसहित पाँच जनालाई आरोपबाट मुक्त गर्दै तजम्मुल इसलामलाई मात्रै दोषी ठहर गरेको हो।


















