एउटा चुनावको पराजयबाट आत्तिन्नँः गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले एउटा चुनावको पराजयबाट आफू नआत्तिने र नडराउने बताएका छन् । मधेस प्रदेशको जनकपुरधाममा बुधबार आयोजित चुनावी समीक्षामा बोल्दै उनले अब पार्टी शुद्धीकरणमा लाग्ने बताए । ‘म नेपाली कांग्रेस पार्टीको कार्यकर्ता हो, एउटा चुनावको जय वा पराजयबाट डराउने वा आत्तिने होइन,’ सभापति थापाले भने ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा थापा सर्लाही ४ बाट पराजित भएका थिए । त्यसपछि थापा ‘मौन’रहेको भन्दै चर्चासमेत हुने गरेको छ । त्यसतर्फ लक्ष्य गर्दै सभापति थापाले भने, ‘मैले केही समय लिन खोजेको हो। किन समय लिन खोजेको भने- हामीले धेरै कुरा सुन्नुपर्ने रहेछ। धेरै नयाँ कुरा सिक्नुपर्ने रहेछ । दौडेर मात्र हुँदैन, केही तयारी गर्नुपर्छ।’