कलाकार ‘बले’विरुद्ध न्यूयोर्क प्रहरीमा उजुरी

कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको जाहेरी दिएकी छन् । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध बलात्कारको जाहेरी दिएकी छन्। ती छात्रा न्यूयोर्कको क्विन्स क्षेत्रमा बस्दै आएकी हुन्।

ती युवतीले मंगलबार प्रहरीमा जाहेरी दिएको परिवारका एक सदस्यले बताएको छ । युवतीले आफ्नो अपार्टमेन्टमै बलेले बलात्कार गरेको आरोप लगाएकी छन्। यसअघि उनले फेसबुकमार्फत पनि घटना सार्वजनिक गरेकी थिइन्।

उक्त आरोपपछि नेपालमा प्रहरीले बलेलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। हाल उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमार्फत ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

पीडित पक्षका अनुसार, अमेरिकामा उजुरी दिएपछि युवतीलाई प्रहरीको विशेष निगरानीमा राखिएको छ भने सरकारी वकिल, चिकित्सकीय सहयोग र सामाजिक सेवा सुविधा पनि उपलब्ध गराइएको छ।

घटना अमेरिका र आरोपित नेपालमा भएकाले अनुसन्धान प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा ढिलाइ भएको बताइएको छ। अब अमेरिकी र नेपाल प्रहरीबीच समन्वय गरेर अनुसन्धान अघि बढ्ने अपेक्षा गरिएको छ।