वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले दन्त उपचार सेवालाई आधुनिक र प्रभावकारी बनाउन अत्याधुनिक हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन सञ्चालनमा ल्याएको जनाएको छ। अस्पतालले प्रविधिको प्रयोगसँगै अब इम्प्लान्ट, एबटमेन्ट, क्राउन र ब्रिज जस्ता सेवा एउटै स्थानबाट छिटो र सटीक रूपमा उपलब्ध हुने बताइएको छ।
यसअघि केडीसीमा एल्जिनेट इम्प्रेसन विधि प्रयोग हुँदै आएको थियो, जसमा बिरामीको मुखभित्र सामग्री राखेर नाप लिने प्रक्रिया अपनाइन्थ्यो। उक्त विधि केही असहज, समय लाग्ने र सधैं उच्च सटीक नहुने चुनौती रहेको कलेजले जनाएको छ। हाल सुरु गरिएको नयाँ प्रविधि कम्प्युटर एडेड डिजाइन तथा कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ प्रणालीमा आधारित रहेको छ। यसले डिजिटल रूपमा डिजाइन गरिएको दन्त संरचना स्वचालित रूपमा निर्माण गर्ने भएकाले उपचारको गुणस्तर र सटीकता दुवैमा सुधार आउने विश्वास गरिएको छ।
केडीसीका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले आधुनिक प्रविधिको प्रयोगले सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेसम्म हामीले एनालग प्रणालीबाट सेवा दिँदै आएका थियौँ, तर अब पूर्ण रूपमा डिजिटल र अटोमेटेड प्रविधिमा रूपान्तरण भएका छौँ, जसले उपचारलाई अझ प्रभावकारी बनाउनेछ।”
उहाँले बिरामीहरूले कम समयमा गुणस्तरीय सेवा प्राप्त गर्ने र विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको अभ्यास गर्ने अवसर पाउने उल्लेख गर्नुभयो। उहाँले यस पहलले नेपालमा डिजिटल डेन्टिस्ट्रीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
मेसिन आपूर्तिकर्ता कम्पनी गर्ग डेन्टल सप्लायर्सका सिनियर सर्भिस म्यानेजर सन्तोष कुइकेलले नयाँ प्रविधिले दन्त संरचना निर्माण प्रक्रियालाई छिटो, सफा र भरपर्दो बनाएको बताउनुभयो। उहाँले अब इन्ट्राओरल स्क्यानरमार्फत बिरामीको मुखभित्रको संरचना डिजिटल रूपमा स्क्यान गरिन्छ र सोही डाटालाई प्रयोग गरेर डिजाइन तथा उत्पादन गरिने बताउनुभयो ।
उहाँका अनुसार स्क्यानबाट प्राप्त डाटा ‘एसटिएल फाइल’का रूपमा सुरक्षित गरिन्छ र कलेजकै डिजिटल ल्याबमा ‘थ्रीशेप डेन्टल सिस्टम’ तथा ‘एक्जोक्याड’ सफ्टवेयर प्रयोग गरी डिजाइन तयार पारिन्छ। त्यसपछि मिलिङ मेसिनमार्फत क्राउन, ब्रिज, भिनियर र अलाइनर ट्रे जस्ता संरचना निर्माण गरिन्छ।
कुइकेलका अनुसार यो मेसिनले ड्राइ र वेट दुवै प्रकारका मिलिङ गर्न सक्छ। जिर्कोनिया, लिथियम डिसिलिकेट, टाइटेनियम लगायतका सामग्रीमा अत्यन्तै सटीकताका साथ संरचना तयार गर्न सकिन्छ। उहाँका अनुसार लिथियम डिसिलिकेट क्राउन करिब ९० मिनेटभित्र र जिर्कोनिया क्राउन करिब तीन घण्टाभित्र तयार गर्न सकिन्छ। उहाँले थप्नुभयो, “डिजिटल प्रणालीमार्फत सटीकता ९९ प्रतिशतभन्दा बढी रहने भएकाले उपचार अझ विश्वसनीय बन्छ।”
यस प्रविधिबाट अर्थोडोन्टिक उपचारका लागि आवश्यक अलाइनरहरू पनि डिजिटल रूपमा तयार गर्न सकिने कलेजले जनाएको छ। थ्रीडी मोडेलिङ र डिजिटल वर्कफ्लोका कारण उपचार प्रक्रिया छिटो र बिरामीमैत्री हुने अपेक्षा गरिएको छ। अस्पतालका अध्यक्ष डा श्रेष्ठले छिटो सेवा प्रदान गर्ने लक्ष्यअनुसार प्रविधि भित्र्याइएको जानकारी दिदै अब बिरामीले अस्पतालमा आएको केही घण्टामै क्राउन वा ब्रिज लगाएर फर्कन सक्ने अवस्था बनेको भन्दै जुन दन्त उपचार क्षेत्रमा महत्वपूर्ण उपलब्धि रहेको दाबी गर्नुभयो ।
उहाँले केडीसीले क्लिनिकल सेवासँगै आधुनिक प्रविधिको ज्ञान हस्तान्तरणमा पनि जोड दिइरहेको उल्लेख गर्दै सेवा मात्र होइन, भविष्यका जनशक्ति तयार गर्ने दायित्व पनि पूरा गरिरहेको बताउनुभयो ।


















