काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका जेनजी आन्दोलनका अग्रणी नेता रवि किरण हमालले आज विशेष पत्रकार सम्मेलन गरी नयाँ स्वतन्त्र, मूल्य-आधारित र मुद्दाकेन्द्रित राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्नुभयो। “पुरानो व्यवस्थाको अन्त्य, नयाँ राजनीतिक संस्कृति निर्माणको सुरुवात” भन्ने नाराका साथ आयोजित यस सम्मेलनले नेपालको राजनीतिक परिदृश्यमा युवा नेतृत्वको नयाँ अध्यायको सङ्केत दिएको छ।
हमालले पुरानो राजनीतिक ढाँचालाई सामन्ती र सौदाबाजीमा आधारित भन्दै कडा आलोचना गर्नुभयो। “दक्षिणपन्थी शक्तिहरूले राष्ट्रवाद र सांस्कृतिक पहिचानको नारा लगाउँछन् तर व्यवहारमा उनीहरू सत्ताकेन्द्रित राजनीतिबाट मुक्त हुन सकेका छैनन्। जेनजीले अब यस्ता पुराना ढाँचामा बसेर राजनीति गर्दैन,” उहाँले स्पष्ट पार्नुभयो।
जेनजी आन्दोलन सकिएको होइन – चेतनाको क्रान्ति जारी छ
“जेनजी आन्दोलन सकियो” भन्ने टिप्पणीको खण्डन गर्दै हमालले भन्नुभयो , आन्दोलन सडकमा मात्र हुँदैन, विचारमा हुन्छ। नेपालको इतिहासमा २००७, २०४६, २०६२/६३ का हरेक परिवर्तन पहिले चेतनास्तरमा भए, पछि संस्थागत रूप लिए। “हाम्रो पुस्ता fearless generation हो। अब हामी protest politics बाट politics of governance and institution-building तर्फ संक्रमण गर्दैछौं। सत्ता बाहिर रहेका सम्पूर्ण जेनजीलाई एकीकृत गर्दै हामी अगाडि बढ्नेछौं।”
मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न कडा माग
भदौ २३ र २४ गतेका घटनालाई लोकतान्त्रिक इतिहासको कालो अध्याय भन्दै हमालले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन अझसम्म सार्वजनिक नभएकोमा गम्भीर प्रश्न उठाउनुभयो। राज्यको अनुपातहीन बलप्रयोग र आन्दोलनलाई भित्रबाट हिंसातर्फ धकेल्ने षड्यन्त्र दुवै पक्षको नाम त्यस प्रतिवेदनमा रहेकाले नै रोकिएको हो कि भन्ने गम्भीर आशङ्का उहाँले व्यक्त गर्नुभयो। “दोषी जोसुकै होस् — सुरक्षा अधिकारी, मन्त्री वा राजनीतिक तत्त्व कारबाही हुनैपर्छ। दण्डहीनताको संस्कृति जारी राखे भावी पुस्ताले राज्यप्रति विश्वास गुमाउनेछन्।”
सीमा अतिक्रमणमा सरकार मौन , जनता आक्रोशित
लिपुलेक, कालापानी र लिम्पियाधुरामा छिमेकी देशले सैन्य संरचना निर्माण र परेड खेलाउँदा सरकार रणनीतिक मौनतामा रहेकोमा हमालले कडा आपत्ति जनाउनुभयो। तत्काल कूटनीतिक विरोध दर्ता, संसदमा आपतकालीन बहस र नेपाललाई Zone of Peace घोषणा गर्न उहाँले माग गर्नुभयो।
महँगी, कालोबजारी र युवा पलायन,संरचनागत समस्या
पेट्रोलियममा लागेका अनावश्यक कर हटाएर तत्काल राहत दिन सकिने औंल्याउँदै हमालले सरकारमा इच्छाशक्तिको अभाव रहेको बताउनुभयो। कालोबजारी, crony capitalism र बेरोजगारीका कारण युवाहरू देश छोड्न बाध्य भइरहेको भन्दै यसलाई संरचनागत समस्याका रूपमा सम्बोधन गर्न उहाँले सरकारसँग माग गर्नुभयो।
बालेन शाहलाई सिधा सन्देश
बालेन शाहको लोकप्रियतावादी राजनीतिप्रति टिप्पणी गर्दै हमालले भन्नुभयो “केपी ओलीसँग पनि दुई तिहाइ थियो, हामीले घुँडा टेकाएका थियौं। बालेन शाहले पनि यो इतिहास सम्झून् , लोकप्रियता र सत्य एउटै हुँदैनन्।”
नयाँ युगको सुरुवात
“हामी पुरानो व्यवस्थालाई अस्वीकार गर्छौं तर अराजकताको पक्षमा छैनौं , हामी व्यवस्थित परिवर्तनको पक्षमा छौं,” भन्दै हमालले जवाफदेहिता, वैचारिक स्पष्टता, राष्ट्रिय हित र पुस्तागत न्यायलाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। देश-विदेशका नेपालीलाई यस नयाँ युगको सुरुवातमा साथ दिन उहाँले आह्वान गर्नुभयो।


















