उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएको छ । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासङ्घको विधानअनुसार स्वत: अध्यक्ष पदमा चयन भएको हो ।

महासङ्घको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको छ । निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएको छ ।

त्यसैगरी वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएको छ । एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी भएको छ । नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिने अपेक्षा गरिएको छ । वरिष्ठ उपाध्यक्ष स्वत: अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक नै अन्तिम रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने जनाइएको छ ।