हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना बढ्दै गएका छन् । पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठूला विपद्का घट्ना भएका छन् । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार हिन्दूकुश क्षेत्रका आठ देशमध्ये भारत, नेपाल, बङ्गलादेश र भुटानले सन् २०२५ मा १० भन्दाबढी ठूला विपद्का घटना सामना गरेका थिए । यसले उक्त क्षेत्रको विपद्सम्बन्धी जोखिमप्रतिको बढ्दो संवेदनशीलतालाई उजागर गरेको छ ।

तथ्याङ्कले म्यानमार, पाकिस्तान र चीनमा पनि सन् २०२५ मा मनसुनजन्य बाढीको शृङ्खला देखिएको छ । जसले पूर्वाधार र जीविकोपार्जनमा व्यापक क्षति पु¥याएको उल्लेख गरेको छ । त्यस्तै, सन् २०२५ मा विश्वव्यापी रूपमा भएका विपद्मध्ये ठूलो हिस्सा एसियामा परेको थियो । यसको प्रभाव दक्षिण तथा पूर्वी एसियाका भाग समेटिएका हिन्दूकुश क्षेत्रमा पनि देखिएको छ ।

उक्त तथ्याङ्कअनुसारले यस क्षेत्रका देशले सन् २०२४ मा मात्र यस्ता घटनाबाट छ अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक क्षति व्यहोरेका थिए । जसमा अधिकांश क्षति बाढी, पहिरो र आँधीजस्ता पानीजन्य विपद्सँग सम्बन्धित छन् । यो अवस्था सन् २०२५ मा पनि जारी रह्यो ।

तीव्र मनसुनी वर्षाले बङ्गलादेश, भारत, नेपाल, पाकिस्तानलगायत हिन्दूकुश क्षेत्रका विभिन्न देशमा पटकपटक बाढी र पहिरो निम्त्यायो । हिमताल विस्फोटजन्य बाढीजस्ता अन्य विपद्का घटना पनि केही स्थानमा रिपोर्ट गरिएका थिए । यस वर्षभरी क्षेत्रभर करिब १२ लाख नागरिक विस्थापित भए वा प्रत्यक्ष रूपमा विपद्बाट प्रभावित भएको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष विषद्बाट १६९ अर्ब अमेरिकी डलर क्षति

विश्वव्यापी रूपमा सन् २०२५ मा विपद्सम्बन्धी आर्थिक क्षति १६९ अर्ब अमेरिकी डलरभन्दा बढी भएको अनुमान गरिएको थियो । यसको तुलनामा हिन्दूकुश हिमालय क्षेत्रमा अभिलेखित क्षतिले जटिल भू–भौगोलिक संरचना र उच्च जोखिमयुक्त अवस्थाले चरम मौसमीय घटनालाई कसरी असमान रूपमा गम्भीर प्रभावमा परिणत गर्छ भन्ने देखाएको छ ।

अनुसन्धानकर्ताले हिमालय क्षेत्रमा विपद्को बढ्दो प्रभावलाई बहुविपद् घटनाको बढ्दो प्रवृत्तिसँग जोडेका छन् । बहुविपद् भन्नाले बाढी, पहिरो वा खडेरीजस्ता एकभन्दा बढी प्रकारका विपद् एउटै समयमा हुने वा एउटा विपद्ले अर्को विपद् निम्त्याउने अवस्थालाई जनाउँछ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले हालका वर्षले पर्वतीय क्षेत्रमा बाढी, पहिरो तथा अन्य विपद् बढ्दो रूपमा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले घर, पूर्वाधार र अत्यावश्यक सेवामा हुने क्षतिलाई अझ बढाइरहेको छ ।” यस क्षेत्रका विगतका उदाहरणमा सन् २०१३ मा उत्तराखण्डको केदारनाथ बाढी, भारतको सिक्किममा सन् २०२३ मा भएको दक्षिण ल्होनाक हिमताल विस्फोटजन्य बाढी, तथा नेपालमा सन् २०२१ मा आएको मेलम्ची बाढी समावेश छन् ।

सन् १९७५ देखि २०२४ सम्मको दीर्घकालीन तथ्याङ्कले भने सन् २०१३ पछि हिन्दूकुश हिमालय क्षेत्रमा विपद्का कारण हुने मृत्यु दर र प्रभावित नागरिकको सङ्ख्यामा कमी आएको देखाएको छ । विश्लेषकहरूले पूर्वतयारी र प्रारम्भिक चेतावनी प्रणालीमा सुधार यसको कारण हुनसक्ने उल्लेख गरेका छन् ।

जलविज्ञ मनिष श्रेष्ठले विपद्का घट्ना बढ्नु चिन्ताजनक भए पनि सन् २०१३ पछिको प्रवृत्तिले यस क्षेत्रमा विपद्बाट बर्सेनि कम नागरिक प्रभावित भइरहेको सङ्केत गरेको उल्लेख गर्नुभयो । “यसले हिन्दूकुश क्षेत्रका केही भागमा राम्रो जलवायु सेवा र पूर्वतयारीलाई प्रतिविम्बित गर्न सक्छ”, उहाँले भन्नुभयो, “जोखिम निरन्तर बढिरहेकाले पूर्वतयारी र योजनामा निरन्तर लगानी आवश्यक छ ।”

नेपालको पूर्वी क्षेत्रमा सन् २०२४ मा खाँदो नदी किनारमा रहेको बाढी प्रारम्भिक चेतावनी प्रणालीबाट जारी गरिएको सूचनाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करिब ६० हजार नागरिकलाई सचेत गराउन र सुरक्षित स्थानमा सार्न सहयोग गरेको थियो ।

इसिमोडका जलविभाग प्रमुख निरा श्रेष्ठ प्रधानले आफूहरुले बाढी प्रारम्भिक चेतावनी प्रणालीबारे समुदायको अपनत्व र सहभागिताका लागि निरन्तर पैरवी गर्दै आएको बताउनुभयो । “यी प्रणाली कम लागतका छन्, लगभग वास्तविक समयमा सूचना प्रदान गर्छन् र तिनको सञ्चालन तथा मर्मतका लागि सीमित बजेट मात्र आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “अझ महत्वपूर्ण कुरा, यस्ता प्रणालीहरूले पटकपटक प्रमाणित गरेका छन् कि स्थानीय नेतृत्वमा गरिने अनुकूलनका लागि स्थानीय आवश्यकता र सन्दर्भअनुसारका समाधान आवश्यक हुन्छन् ।”

विशेषज्ञले जलवायु परिवर्तनले मौसमीय ढाँचामा परिवर्तन ल्याउँदै चरम घटनाको आवृत्ति र तीव्रता बढाइरहेकाले आगामी वर्षमा बहु–विपद् जोखिम अझ बढ्ने सम्भावना रहेको चेतावनीसमेत दिएका छन् । हिन्दूकुश हिमालय क्षेत्र एसियाभर तीन हजार ५०० किलोमिटर क्षेत्रमा फैलिएको छ । यसमा अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान गरी आठ देश समेटिन्छन् । उच्च हिमाली पर्वतशृङ्खला, मध्यपहाडी क्षेत्र तथा तराई–मैदान समावेश भएको यो क्षेत्र करिब दुई अर्ब नागरिकको खाद्य, पानी र ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ । यो क्षेत्र असङ्ख्य दुर्लभ तथा अपरिवर्तनीय जीवजन्तु र वनस्पतिको बासस्थान पनि हो । यो क्षेत्र जलवायु परिवर्तन, प्रदूषण तथा जैविक विविधताको क्षतिले अत्यधिक जोखिममा छ ।