कामु प्रधानन्यायाधीश मल्लको आदेश : दरपीठ भएका रिट पनि दर्ता गर

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट दर्ता गर्न आदेश दिएकी छन् । यसअघि कानुन व्यवसायीहरुले दर्ता गर्न ल्याएको रिट दरपीठ गरेको र दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि नगरेको कानुन व्यसायीको गुनासोपछि कामु प्रधानन्यायाधीश मल्लले रिट दर्ता गर्न आदेश दिएकी हुन् । उनले आजै एक बजेभित्र सबै रिट निवेदनहरु तथा दरपीठ आदेश उपरको निवेदन समेत दर्ता गरी भोलि जेठ ५ गते मंगलबारको तारेख तोकी पेशीमा चढाउन समेत आदेश दिएकी छन् ।

यसअघि संवैधानिक परिषद बैठकले चौथो बरियताका डा। मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीहरुले रिट दायर गर्न खोजेका थिए । तर सर्वोच्च अदालतले सो रिट दरपीठ गरिदिएको थियो । रिट दरपीठ विरुद्ध पनि रिट दायर गर्न खोज्दा मुख्य रजिष्ट्रारले अस्वीकार गरेको गुनासो कानुन व्यवसायीले गरेका थिए । आज केही कानुन व्यवसायीहरुले कामु प्रधानन्यायाधीश मल्ललाई भेटेरै आफ्ना गुनासाहरु राखेका थिए । आजै कामु प्रधानन्यायाधीश मल्लले लिखित आदेशमा भनेकी छन्, ‘कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’

उनले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ बमोजिम प्रधानन्यायधीशको हैसियतले आवश्यक निर्देशन एवं आदेश गर्नुपर्ने अवस्था आएको उल्लेख गरेकी छन् ।