सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएपछि खुलेको पहिलो दिनको सेयर बजारले नकारात्मक प्रतिक्रिया जनाएको छ ।शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको बजेटमा सेयर बजारका केही विषय पनि चलाइएको थियो । बजेटमा गरिएका नयाँ व्यवस्थाप्रति लगानीकर्ताले असन्तुष्ट जनाएका छन्, जसको प्रतिक्रिया सोमबारको नेप्से परिसूचकमा देखियो ।
बजेटले पूँजीगत लाभकर साढे २ प्रतिशत विन्दुले बढाएर अल्पकालीन (१ वर्षभन्दा कम अवधि)का लागि १० प्रतिशत र दीर्घकालीन (१ वर्षमाथिको अवधि)का लागि साढे ७ प्रतिशत कायम गरेको थियो । त्यस्तै पूँजीगत लाभकरलाई अन्तिम भनिए पनि विधेयकले वार्षिक ४० लाखमाथिको आम्दानी गर्नेका हकमा अन्तिम नभएको आशय उल्लेख गरेको छ ।
जसको असरले सोमबार बजार परिसूचक नेप्से २६.७२ अंक (०.९६ प्रतिशत) घटेको छ । यो कमीपछि नेप्से परिसूचक २७५५ अंकमा अडिएको छ । सुरुवाती कारोबारमा बजार उतारचढाव देखिए पनि ११ : ३७ बजेपछि निरन्तर ओरालोमा रह्यो । दिउँसो २ : ३८ बजे नेप्से आजको न्यूनतम अंक २७४६ सम्म झरेको थियो ।
३५ कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने २ को स्थिर रह्यो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ६ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६१ करोडमा खुम्चियो ।


















