काठमाडौं, २९ जेठः विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गर्नुभएको छ । मन्त्रीले पुनले सामाजिक सञ्जालमार्फत विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभएको हो । “देशलाई समृद्ध बनाउन नगरीनहुने महत्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्ने छ ।’’, उहाँले भन्नुभएको छ, “ देशको विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने–गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित आम नेपाली जनतालाई सिकाउन निरन्तर लागिरहनेछु ।’’


















