काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीविरुद्ध लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो।
यद्यपि, अदालतले लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने जनाएको छ। सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा लामिछाने लगायत प्रतिवादी रहेको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो ।


















